धरान÷प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते आइबार हठात प्रतिनिधिसभा विघटन गरेपछि संसदमा प्रतिनिधित्व गर्ने सत्ता पक्षीय नेता कार्यकर्ता, विपक्षी दलका नेता कार्यकर्ता र अधिकारकर्मीहरु विरोधमा सडकमा उत्रिएका छन् ।
आइतबार साँझ नेपाली काँग्रेस धरानका भातृ संगठन, नेकपाको प्रचण्ड माधव नेपाल समूहले धरानको भानुुचौकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्धमा चर्का नाराबाजी गर्दै ओलीको पुत्ला दहन समेत गरेका थिए । उनीहरुले संसद विघटनको सिफारिस खारेज गर, सघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर एक हौं, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, प्रतिगामी कदम मान्दैनौं मान्दैनौ भन्दै नाराबाजी गरेका थिए ।
२०४६ र २०६२÷०६३ को जन आन्दोलनको झल्को दिने गरी राजनैतिक दल, तिनका शुभेच्छुक भातृ संगठन, अधिकारर्कीहरु एक पछि अर्को गरी सडकमा उत्रन थालेका छन् । प्रदेश नं. १ मा क्षेत्रीय राजनैतिक पार्टीको रुपमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल धरान नगर समितिले संघीय ंसंसदको विघटनको विरुद्धमा धरानमा हिजो वृहत विरोध सभा गरेको छ । संघीय लिम्बुवान मञ्च नेपाल सुनसरीका अध्यक्ष अमर इजमको नेतृत्वमा निस्किएको जुलुसले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध चर्का नाराबाजी समेत गरेको थियो । मञ्चले सोमबार एक विज्ञप्ती प्रकाशित गरी प्रतिनिधिसभा विघटनको विरोध गर्दै भत्सर्ना समेत गरेको थियो । उसले विज्ञप्तीमा भनेको छ, नेकपा भित्रको आन्तरिक कलहका कारण सिंगो प्रतिनिधिसभा विघटन गर्नु खेदजनक छ । विज्ञप्तीमा उसले प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई दोषी ठह¥याएको छ । यो कदम संविधान विपरीत, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको छ ।
यसैबीच प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्धमा चौतर्फी विरोध, नारा जुलुस सहित सडक आन्दोलन हुन थालेपछि सरकारले सोमबार प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएकोे छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार सरकारले त्यस्तो निर्णय गरेको र निर्देशन दिएको छ । सरकारले सुनसरीमा मात्र नभएर देशका ७७ वटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई त्यस्तो निर्देशन दिँदै सुरक्षा सतर्कता बढाउन भनेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
