दुहवी, सुनसरी÷सामान्य भनाभनलाई गाली वेइज्जति सम्झेर सो को बदला लिन दुहवीका एक युवकले आफ्नै साथीको विभत्स हत्या गरेका छन् ।
मंसिर १० गते बुधबारदेखि हराइ रहेका युवकको ६ दिनपछि सोमबार दुर्गन्धित अवस्थामा प्रहरीले शव फेला पारेपछि उनको हत्या आफ्नै मिल्ने साथीले गरेको रहस्य सुनसरी प्रहरीले बाहिर ल्याएको छ ।
आफ्नै सार्थी सुमन झाले दुहवी नगरपालिका वडा नं. २ भीरगाउँका १८ बर्षीय सुजन नारायण चौधरीलाई भेट्न बोलाएपछि उनी साथीलाई भेट्न जान्छु भनेर घरबाट निस्किएका थिए । नेपाल टेलिकम विराटनगरका अधिकृतको जागिरे सुरेन्द्र चौधरीका छोरा फेरि फर्किएर घर पुग्न पाएनन् । प्रहरीले उनको शव घरबाट करिब सात सय मिटर पर बन्द रहेको अरुण वनस्पति घ्यु उद्योग परिसरमा फेला परेको थियो । उनको शव झाडीमा फालिएको अवस्थामा प्रहरीले फेला पारेपछि चौधरी परिवारमा शोक छाएको छ ।
पिता सुरेन्द्र चौधरीका अनुसार साथीलाई भेट्न जान्छु भनेर घरबाट निस्किएको छोरो अबेर रातिसम्म घर नफर्किपछि छोराको हुलिया सहित खोजतालसका लागि प्रहरीमा जाहेरी दिइएको थियो । इलाका प्रहरी कार्यालयमा चौधरी परिवारले छोरा खोजी गरिदिन ११ गते विहीबार जाहेरी दिएको थियो । हुलियाकै आधारमा अनुसन्धान थालेको प्रहरीले भेट्न बोलाउने साथी सुमन झालाई नियन्त्रणमा लिएर सोधीखोजी गर्दा उनको हत्या गरेको स्विकारेको थियो ।

हत्याको आरोपमा प्रक्राउ परेका सुमन झा
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो, प्रक्राउ परेका झाकै बयानका आधारमा प्रहरी घट्ना स्थल पग्न सफल भएको हो । प्रारम्भमा झाले आफूले बोलाए पनि सुजन नारायण चौधरी नआएकोले थाहा नभएको बताएका थिए । तर प्रहरीको निरन्तर केरकार पछि उनले चौधरीको हत्या गरी शव झाडीमा फालेको बयान दिएको थापाले बताउनुभयो । मृतक चौधरीका मामाको मोवाइबाट मृतकको मोवाइलमा सम्पर्क राख्दा चौधरी आफ्नो कब्जामा रहेको र जे पनि हुन सक्ने प्रत्यूत्तर पाएका थिए । तर त्यसपछि पटक पटक फोन सम्पर्क गर्दा पनि मृतकको फोन उठेको थिएन । मृतकका भिनाजु हुलासचन्द चौधरीले दिएको जानकारी अनुसार पहिलो पटक फोन उठे पनि पछि फोन उठेन । पहिलो पटक उठ्दा पनि बोलीमा सिष्टाचार थिएन । तेरो छोरो मेरो कब्जामा छ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरिएको थियो । इटहरी स्थित एक कलेजमा कक्षा १२ मा अध्ययन गर्दै गरेका सुजन नारायण चौधरी घरबाट हराएपछि परिवारले धेरै ठाउँमा सोधी खोजी गरेको थियो । उनका कलेजका साथीहरुसँग पनि सम्पर्क गरेका थिए । तर कसैले पनि सुजनलाई नदेखेको र आफ्नोमा नआएको बताएपछि परिवार थप चिन्तामा डुबेको थियो, भिनाजु चौधरीले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले सुमन झाकै बयानका आधारमा हाल तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । झा बाहेक अन्य दुईजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । थापाले भन्नुभयो हाल उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी कार्वाहीको प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीको आशंका छ चौरीको हत्यामा अरु पनि संलग्न हुन सक्छन् । अहिल्यै सबै कुरा बाहिर ल्याउन मिल्दैन थापाले भन्नुभयो ।
