आपसी द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले भारतीय विदेश सचिवको मंसिर दोस्रो साता नेपाल भ्रमण हुदै उच्च स्तरीय भेटघाटसँगै सचिव स्तरीय वार्ता, पछिल्ला भारतीय लगानीका परियोजना लगायतका विषयमा छलफल हुने

धरान÷नेपाल र भारतबीचको आपसी द्विपक्षीय सम्बन्ध थप सुदृढ र मजबुत बनाउने उद्देश्यले भारतीय विदेश सचिव हर्ष वर्धन श्रृंगला आगामी मंसिरको दोसो साता नेपाल भ्रमणमा आउनु हुने भएको छ ।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण नोभेम्बार २६ र २७ तारेख अर्थात मंसिर ११ र १२ गतेलाई तय भएको छ ।
सन् २०२० जनवरी २९ अर्थात २०७७ माघ २८ देखि भारतीय विदेश सचिवको रुपमा रहँदै आउनु भएका श्रृंगला अमेरिकाको भारतीय राजदूत, वंगलादेशको हाइकमिसनर, थाइल्याण्डको राजदूतका साथै फ्रान्स, इजरेल, दक्षिण अफ्रिकामा समेत काम गरिसक्नु भएको छ ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव श्रृंगलाले उच्च स्तरीय भेटघाटसँगै सचिव स्तरीय वार्ता र पछिल्लो समय भारतीय लगानीमा नेपालमा सञ्चालित परियोजनाहरुको अवस्था तथा प्रगतिका बारेमा छलफल गर्नुहुने जनाइएको छ । उच्च स्तरीय भेटघाटमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनु भएका केपी शर्मा ओली लगायतसँग आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नु हुने जनाइएको छ ।
पछिल्लो समय नेपाल भारतबीच देखिएको सामान्य चीसोपन सुधार्न उहाँको भ्रमण केन्द्रित रहने भारतीय मिडियाहरुले लेखेका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय वैठकमा समेत सहभागिता जनाउनु हुने भएको छ । उक्त उच्च स्तरीय वैठकको नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नु हुने भएको छ भने भारतीय पक्षको नेतृत्व विदेश सचिव श्रृंगलाले गर्नु हुने भएको छ । बैंठकमा नेपाल भारत बीचको पछिल्लो सम्बन्धमा छलफल हुने, नेपालमा सञ्चालित भारतीय
परियोजनाहरुका बारेमा र सम्भावित काठमाण्डौ रक्सौल रेल मार्ग लगायतका विषयमा मुख्य एजेन्डा हुने परराष्ट्र स्रोतले जनाएको छ ।
खास गरेर नेपालले कालापानी, लिम्यिाधुरा, लिपुलेक सहितको नक्सा संसदबाट पारित गरेपछि जनस्तरमा भन्दा पनि दुई देशका सरकारबीचको सम्बन्धमा केही असमझदारी बढेको थियो । भारतीय मिडियाका अनुसार केही समयदेखि दुवै देशबीचमा संवादहीनताकै अवस्था सिर्जना भएको थियो । केही दिन अगाडि मात्र दुई देशबीचको संवादहिनताको अवस्था र असमझदारीलाई चिर्ने उद्देश्यले नै वार्ता र संवाद अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिसर्च एण्ड एन्लाइसिस विंग्सका प्रमुख सामन्त कुमार गोयललाई दूतको रुपमा नेपाल पठाउनु भएको थियो । दुई दिने नेपाल बसाइको क्रममा प्रमुख गोयलले प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको थियो । पुन ः कार्तिक १९देखि २१ गतेसम्म भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गरी नेपाल र भारतबीच कायम रहेको सात दशक भन्दा पुरानो परम्परा अर्थात नेपाली सेनाको
महारथीको मानार्थ दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ग्रहण गर्नुभएको थियो । सोही क्रममा सेनाध्यक्ष जनरल नरवणेले प्रधानमन्त्री एवम् रक्षामन्त्री समेतको जिम्मेवारीमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली, पधान सेनापति पूर्णचन्द्र थापासँग सौहाद्र्धपूर्ण वार्ता गर्नुभएको थियो । दुवै पटक भएका वार्ताले दुई देशबीचको असमझदारी तथा देखिएको सरकार सरकारबीचको सम्बन्ध सुदृढ गर्न कोसे ढुंगा सावित भएको थियो ।
दुवै देशबीचको सम्वादहीनताको अवस्थालाई सामन्त कुमार गोयल र जनरल नरवणेको भ्रमणले सम्बन्ध सुधारमा जुन सकारात्मक पहल कदमी भयो त्यसले सकारात्मक प्रभाव पारेको कुटनैतिक वृत्तका जानकारहरु बताउँछन् । यहाँ स्मरणीय कुरा के छ भने ७३ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा अगस्त १५ तारेका दिन अर्थात साउन ३१ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी भारत सरकार, भारतीय जनतालाई शुभकामना दिनुभएको थियो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भएको वार्तालाई आफ्नो ट्वीटमा समेत राख्नु भएको थियो । पहिलो पटक दुवै देशबीच भएको संवादहीनताको अवस्थालाई सोही टेलिफोन वार्ता र ट्वीटले केही हदसम्म चिर्ने काम गरेको थियो । वार्ताकै क्रममा प्रधानमन्त्री मोदीले सम्बन्ध सुधारमा आफ्नो तर्फबाट दूत पठाउने उल्लेख गरे मुताविक गोयल र नरवणेको नेपाल भ्रमण भएको थियो भने पछिल्लो श्रृंखलासम्म आइपुग्दा भारतीय विदेश सचिव हर्ष वर्धन श्रृंगला सम्म पुगेको छ ।

तपाईको प्रतिक्रिया