सुनसरीमा बाह्र दिन लकडाउन

इनरुवा÷जिल्ला प्रशासन कार्यालय सुनसरीले कोभिड जोखिमको उच्च बृद्धिदर रहेको भन्दै नजिकिदै गरेको तिहार र छठ पर्वमा सर्वसाधारणको जमघट र भेला रोक्न सोमबारदेखि मंसिर ६ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार एक सूचना प्रकाशित गरी विषम् परिस्थितिका कारण नेपालीहरुले मनाउँदै आइरहेको दिपाली तथा छठ पर्वमा विभिन्न शक्तिपीठ, मन्दिर तथा समाजमा सामूहिक रुपमा गरिने पूजाआजामा दैनिक एक व्यक्तिद्वारा गरिने नित्य पूजाबाहेक भेला जम्मा हुन, ती क्षेत्रमा हुने धार्मिक क्रियाकलापमा सहभागी हुन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ र संक्रमण रोग ऐन २०२० बमोजिम जिल्ला भरि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
जारी सूचनामा भनिएको छ मन्दिर, शक्तिपीठ, पण्डालमा एक व्यक्तिद्वारा गरिने पूजाआजा बाहेक अन्य कार्य गर्न नपाइने, मस्जिद तथा चर्च लगायत धार्मिक क्रियाकलाप गरिने क्षेत्रमा भेला हुन नपाइने, गुम्बाहरुमा भेला पूजा गर्न नपाइने, भक्ति संगीत लगायतका कार्यहरु गर्न नपाइने, भजन कीर्तन अनुष्ठानहरु गर्न नपाइने, देउसी भैलो, जुवातास खेल्न नपाइने, मेला जात्रा गर्न नपाइने, राजनैतिक दलहरुबाट गरिने कार्य गर्न नपाइने, उद्घाटन शिलान्यास गर्न नपाइने, सामुहिक रुपमा भेला जम्मा भएर गरिने कुनै पनि क्रियाकलाप गर्न नपाइने, पटका तथा विस्फोटक पदार्थ ओसार पसार विक्री वितरण गर्न नपाइने, नदी तलाउ तथा पोखरी, नहर आसपास भीडभाड, पूजाआजा गर्न नपाइने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचना अनुरुपै मोरङ्ग, झापा लगायतका जिल्लाहरुले समेत सूचना जारी गरेका छन् । विराटनगरमा जिल्ला प्रशासन कार्यालयको सूचनालाई चुनौति दिदै छठ पर्व धर्मालम्बीहरुले छठ पर्व मनाउन प्रशासनले रोक लगाए सो को विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार उनीहरुले पत्रकार सम्मेलन गरेर आन्दोलनको चेतावनी दिएका हुन् ।

तपाईको प्रतिक्रिया