भारतीय विदेश मन्त्रायलले भगवान गौतम बुद्धको जन्म नेपालमा भएको कुनै सन्देह नभएको जनाएको छ ।
भारतीय विदेश मन्त्री डा. एस जयशंकरको शनिवार बुद्धलाई भारतीय भन्दै गरेको एउटा भिडियो सार्वजनिक भएपछि नेपालमा त्यसप्रति टीका टिप्पणी भएका थिए । नेपालको परराष्ट्र मन्त्रालयले समेत भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्दै आइतबार विज्ञप्ती जारी गरेको थियो । नेपालले जारी गरेको विज्ञप्तीमा भगवान गौतम बुद्धको जन्म ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित भएको जनाइएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार एक विज्ञप्ती मार्फत भगवान बुद्धको जन्म नेपालमा भएको र भारतीय विदेश मन्त्री डा. एस जयशंकरले बौद्ध धर्म सम्पदा नेपाल र भारत दुवै देशको साझा भएको बताउनु भएकोे उल्लेख गर्नुभएको छ ।
