धरान÷ सुनसरीको धरान चतरा जोड्ने राजमार्ग अन्तर्गत धरान १७ पट्नालीमा सर्दुखोलाको बाढीले सडक नै कटान गरेर धार परिवर्तन गरेपछि चतरा र धरानबीचको आवातजावतमा कठिनाई भएको छ ।
विगतमा सर्दुखोलामा पुल नहुदा समस्या भोगेका सर्वसाधारणले पुल बनिसकेपछि पनि अनियन्त्रित रुपमा आउने बाढीले धार परिवर्तन गरेर बाटो नै बगाएपछि वैकल्पिक बाटो बनाएर आउनुपर्ने बाध्यता रहेको छ ।
धरान १७ पट्नालीका किरण थापाले बर्षाद्को समयमा बर्षेनी धरान १७ मा रहेको पट्नाली खोला र सर्दु खोलाको चपेटामा पर्ने गरेको बताउनुभयो । उहाले सम्बन्धित निकायले ध्यान नपु¥याउदा आफूहरु धरान १७ कै बासिन्दा भएपनि धरान बजारसंग समबन्ध विच्छेद हुने र यहा बसोबास गर्ने सर्वसाधारण विस्थापित हुने खतरा बढेर गएको बताउनुभयो ।
सर्दुखोलामा र पट्नाली दुवै खोलामा पुल निर्माण गरिएको छ । तर खहरे खोला भएका कारण बाढीका समयमा खोला अनियन्त्रित भएर कटान गर्दा पुल निर्माण भएको भन्दा केही परसम्म कटान शुरु गरेको छ । जसका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका तथा धरानकै सर्वसाधारण विरामी हुदा उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पु¥याउन समेत धौ धौ पर्ने गरेको छ । अहिले कटान गरेको स्थानभन्दा छेउबाट बनाइएको बाटो हिलाम्मे हुदा सवारी साधन भास्सिने डर उत्तिकै रहेको छ ।
बर्षेनी गरेको कटानले विगतमा भएको खेतियोग्य जमिन कटान गर्दै जादा धरान १७ पट्नालीमा बसोबास गर्ने ५ घर जोखिममा रहेको स्थानीहरु बताउछन् । विगतमा पुल नहुदा सास्ती भोगेका उनीहरुले खोलामा पुल निर्माण भएपछि केही सहज हुने अपेक्षा राखेका उनीहरुले खोलाले धार परिवर्तन गरेर बस्ती नै जोखिममा पर्न थालेपछि भने जोखिममा पर्दैै गएको महसुस गर्न थालेका छन् ।
चतरा पुगेर धरान आउनु भएका ज्ञानकुमार लामाले बल्ल बल्ल ठेलेर बाटो कटाएको बताउनुभयो । सेक्टर वन कार्यालय धरानका प्रमुख समेत रहनुभएका लामाले अनाधिकृत रुपम रुख कटान गर्ने र बोट विरुवालाई संरक्षण नगर्दा यस्तो समस्या आएको बताउनुभयो ।
कटानका कारण खोलामा बनेका पुलहरु समेत भत्किन सक्ने सम्भावना बढेर गएको छ । विगतमा खोलाको लम्बाई र चौडाई हेरेर बनाइएका पुलहरु खोलाको धार परिवर्तन हुदा पुलका पिलहरुमा समेत बाढीले क्षति पु¥याउन थालेको छ । रसुवा कन्टूक्सनका सुपर भाइजर हरि रिमालले इन्जिनियरको डिजाइन अनुसार पुल बनाइएको र पुल मजबुत भए पनि खहरे खोला अनयिन्त्रत भएर बग्दा पुलमा समेत क्षति पुग्ने जोखिम बढेर गएको बताउनुभयो ।
यो सडक सञ्जालले धरान चतरा जोड्ने मात्र नभई यही बाटो भएर उदयपुर गाइघाट हुदै काठमाण्डोसम्म पुग्ने छोटो दूरीको सडकको रुपमा समेत लिइने गरिएको छ । अन्य ठाउमा भन्दा पनि धरान चतराको १७ किमीको दूरीमा पर्ने सर्दुखोला र पट्नाली खोलामा यस्तो समस्या बर्षेनी आइरहन्छ ।
अत्यन्तै महत्वपूर्ण सडकको दीर्घकालस्न समस्या समाधानमा सडक डिभिजन कार्यालयले समेत खासै ध्यान पु¥याइएको पाइदैन । स्थानीय सरकारहरुले काम सडकलाई मर्मत गरेर काम चलाउ बनाए पनि क्षणिक हुने गरेको छ ।
