धरान÷कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै हिजो मंगलबारदेखि प्रदेश नं. १ पूर्ण रुपले लकडाउन भएको छ ।
धरानमा समेत बन्द र लक डाउनको पूर्ण रुपले प्रभाव परेको छ, सडकहरु खाली भएका छन्, सवारी साधनहरु चलेका छैनन्, सर्वसाधारण घर बाहिर निस्किएका छैनन् । एक आद्य निस्किएका दुई पांग्रे सवारी साधनलाई ट्राफिक प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले नचलाउन आग्रह गर्दे आएको छ । विभिन्न संघ संस्था, सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाको पहलमा कोरोना भाइरस संक्रमणसम्बन्धी सूचना प्रवाह गरी चैत्र २१ गतेसम्म बन्दको आवहान गरिएको छ ।
सुनसरी उद्योग वाणिज्य सघले सोमबार एक सूचना प्रकाशित गरी कोरोना भाइरस नियन्त्रणका लागि व्यवसाय बन्द गर्न आग्रह गरेको छ । सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसको जोखिमको पूर्व तयारी, सतर्कता एवम् नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएकोले धरान उपमहानगरपालिकाको अनुरोधमा लकडाउन गर्ने भन्ने अनुरोध बमोजिम यस क्षेत्रमा सञ्चालित अति आवश्यक वस्तुको कारोबार गर्ने व्यवसायहरुबाहेक अन्य व्यवसायहरु चैत्र २१ गतेसम्म बन्द गरी घरभित्रै सुरक्षित हुन सम्पूर्ण व्यवायीहरुलाई अनुरोध गरेको छ ।
यसैगरी धरान नगर सहकारी समन्वय समितिले समेत सबैको जानकारीका लागि भन्दै सूचना प्रकाशित गरी बन्दको आग्रह गरेको छ । उसले जारी गरेको सूचनामा भनिएको छ चीनको वुहान राज्यबाट शुरु भएको कोरोना भाइरस विश्वभरि फैलिरहेको र यसले पारेको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारको आवहानप्रति ऐक्यवद्धता जनाएको उल्लेख गरेको छ । समन्वय समितिका संयोजक भिषण लामा र सचिव ज्ञानेन्द्र बस्नेतद्वारा जारी सूचनामा भनिएको छ जिल्ला सहकारी सघ लि. तथा जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीले गरेको अनुरोधलाई मध्यनजगर गर्दै धरान उपमहानगरपालिकाले चैत्र १० देखि धराने जनताको स्वास्थ्यमा प्रतिकूल असर नपरोस भनी धरानलाई नै लकडाउनको घोषणा गरेको हुनाले धरानमा रहेका सहकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुको समेत स्वास्थ्यलाई ख्याल गर्दै आगामी २१ गतेसम्म बन्दको लागि अनुरोध गरेको छ ।
चीनले समयमै कोरोना भाइरस सम्बन्धी सूचना विश्वलाई नदिँदा तथा यस समबन्धी सूचना लुकाउँदा आज यसको प्रकोप संसारका १ सय ९५ मुलुकहरुमध्ये १ सय ८८ वटा मुलुकमा यसको महामारी फैलिएको छ । नेपालमा पहिलो पटक अधिकारिक रुपमा फ्रान्सबाट कतारको दोहा हुँदै चैत्र ४ गते नेपाल आएकी एक १९ बर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न पहल गरे पनि नेपालीहरुले त्यसलाई गम्भीरतापूर्वक लिएको देखिदैन । उनीहरुले खेलाची गरिरहेका छन् ।
फेक समाचाले थप आतंकित
कोरोना भाइरस सम्बन्धी सर्वत्र चासो र चिन्ता छाएको अवस्थमा केही फेक समाचारहरुले जनमानसलाई आतंकित बनाएको छ । ठूला सञ्चारमाध्यमले समेत आधारहीन र अपुष्ट समाचारलाई बढावा दिएको देखिन्छ ।
दुई दिन अगाडिमात्र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराउन आएका धनकुटाका दुईजनामा कोरोना भाइरसको पुष्टिको समाचार बाहिर आउँदा प्रतिष्ठान प्रवक्ता डा. अशोक ऐयरले आश्चर्य व्यक्त गर्नुभएको छ । हालसम्म प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराउन आएका कसैमाथि पनि कोरेनाको पुष्टि नभएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ उनीहरुको अवस्था सामान्य छ । प्रतिष्ठानमा आउँदा घामले गर्दा केही टेम्पेरेचर बढेको देखियो । त्यसपछि परीक्षण गर्दा सामान्य देखियो । उहाँहरु घरमै होम आइसोलेसनमा बस्ने भनेर फर्किनु भएको छ । त्यसरी एउटा जिम्मेवार सञ्चार माध्यमले कोभिड १९ भनेर कसरी भन्न सकेको होला ? यतिबेला सबैले प्रयास गर्नुपर्छ । युनिटी घट्दा भाइरसले थप त्रसित बनाउँछ । त्यसबेला न स्वास्थ्यकर्मी, न मिडिया कर्र्मी न जनता सबै त्रास हुन्छन् । हामीले कसरी बाँच्ने भनेर तयारी गर्ने भन्ने मात्र हो । उता मंगलबार समेत धरानमा एक जना चाइनिज नागरिकलाइ कोभिड भेटियो भनेर त्रास फैल्याउने काम भयो । यस समबन्धमा इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपाने भन्नहुन्छ यो सबै हल्लाको बजार हो । प्रतिष्ठानमा आएका चिनियाँ नागरिकमा त्यस्तो कुनै संक्रमण भएको पुष्टि भएन । चीनबाट फेसबुक मार्फत साथी बनेका एकजनालाई भेट्न आएका रहेछन् । चाइनिज भन्नासाथ अहिले सबै कोरोना नै सम्झन्छन् । उनी प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न आए । उनले आफ्नो साथ स्वस्थ रहेको प्रमाणसमेत बोकेका थिए ।
ठाउँ ठाउँमा हात धुन सावुन पानीको व्यवस्था

कोरोना भाइरस नियन्त्रणका लागि यतिबेला धरानका विभिन्न स्थानका हात धुन साबुन पानीको व्यवस्था गरिएको छ । सामाजिक सघ संस्था, सुनसरी उद्योग वाणिज्य संघ, धरान जेसिस, व्यवसायिक प्रतिष्ठानहरुको पहलमा सर्वसाधारणका लागि सावुन पानीले हात धुने व्यवस्था गरिएको हो ।
सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष गिरिधारी सापकोटा भन्नुहुन्छ, धरानका टाढाटाढाका बस्तीमा पुगेर साबुन बाँड्ने र जनचेतना फैल्याउने काम वाणिज्य संघले गरिरहेको छ । धरानको वडा प्रहरी कार्यालय अगाडि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडि धरान ८ को भोटेपुल, बरगाछीमा त्यस्तो सावुन पानीले हात धुने व्यवस्था मिलाइएको छ । यसैगरी वडा न. ७ ले दर्जन भन्दा बढी स्थानमा त्यस्तो व्यवस्था गरिदिएको वडा अध्यक्ष जीवन सुवेदीले बताउनुभयो । यस्तै धरान १४ विजयपुरको वडा कार्यालयले सर्वसाधारणलाई माक्र्स वितरणका साथै कोरोना भाइरस सक्रमणबाट बच्न के गर्नुपर्छ भन्ने विषयमा जनचेतना फैल्याइरहेको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।
पेट्रोल पम्पहरु सबै बन्द
कोरोना भाइरस नियन्त्रणका लागि लकडाउनको अवस्थामा पेट्रोल पम्पहरु खुल्ला राख्नुको औचित्य नभएको भन्दै पम्प सञ्चालकहरुले हिजोदेखि प्रदेश नं १ का सम्पूर्ण पम्पहरु बन्द गरेका छन् ।
पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य एवम् अरुण पेट्रोलियम ट्रेडिङ्ग सेन्टरका सञ्चालक गोपाल श्रेष्ठका अनुसार लकडाउनका समयमा यातायातका सवारी साधनहरु पूर्ण रुपले बन्द हुने भएकोले खुल्ला राख्नुको औचित्य नहुने भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउदै बन्द गरेको बताउनुभयो । पेट्रोलियम डिलर एसोसिएसनका कोशी अध्यक्ष देवेन्द्र श्रेष्ठले समेत बन्द गर्नुपर्ने कुरमा जोड दिदै प्रशासनसँग आग्रह गर्नुभएको थियो । अनावश्यक रुपमा १०÷१२जना स्टाफलाइ पम्पमा किन थुपार्नु श्रेष्ठले भन्नुभयो । तर प्रहरी, एम्बुलेन्सका लागि भने इन्धन उपलब्ध गराउन एक जना स्टाफर्लाइ पम्पमा राख्ने सहमति प्रशासनसँग भएको केन्द्रीय सदस्य श्रेष्ठले प्रष्ट पार्नुभयो ।
