देशैभरि लकडाउन
नामचाहिँ कोरोना काम चाहिँ गर्न नदिने । त्यसका बाजेको न त्यो कोरोनाको अनुहार देखिन्छ न त्यसका हात पाउ देखिन्छन् । केही नदेखिदा पनि विश्व हल्लाई देको छ । झन देख्या भे कस्तो उत्पात मच्चाउथ्यो होला ? हैट के आयो आयो । हाम्रा जब्बर पर्धानमन्तरी समेत यतिबेला कोरोनासँग कसरी लड्ने भनेर सोचिरा’छन् । जुक्ति निकाली रा’छन । विचराको दिमागाँ केही फुरेको छैन । सोच्दा सोच्दा अस्तिका दिन चाहिँ एउटा गतिलै आइडिया फुरेछ ।, देशैभरि ताला मार्दिने माने लक डाउन सवारी साधन चल्न नदिने, कसैलाई घरबाट बाहिर निस्कन नदिने, विदेश जानेलाई रोक्ने, आउनेलाइ फर्काइने । वा क्या गज्ज्बको आइडिया ? पर्धानमन्तरी हुनु त खप्रओ जस्तो । उनलाई सितिमिति आइडिया नै फुदैन । फुरेपछि सिद्धियो । तर पर्धानमन्तीरीको लक डाउन चाहिँ साँचो हो कि झुटो हो । छुट्याउनै गाह्रो । यस भन्दा अगाडि बोल्या कुरा कुनै पुग्या हाइनन् । हुन त हाम्रा पर्धानमन्तीकको कामै बाल्दिने हो । झटारो हानेसी लाग्न नि सक्छ नलाग्न नि सक्छ । कि कसो हौं ?
विदेश जानेहरुको रुवाबासी
विदेश जानेहरुको फुइँ यतिबेला लातलुत झरेको छ । कोरोनाले विश्वभरि नै डाइफ हानेपछि स्वदेश फर्कन तिन्को रुवाबासी चल्या छ । यसभन्दा अगाडि तिन्का फाइँफुई सानो थिएन । अम्रिका, युरोप, अस्ट्रेलिया, क्यानाडा गएर पिआर लिएकाहरु त झन यदाकदा यता आउँदा आफ्ना पुराना दौतरी, छरछिमेकसँँग पनि बोल्न धक मान्थे । बोल्दा पनि थुतुनो विटुलो हुन्छ झै गर्थै । तेल भिषामा गएका बाबु आमाको रवाफ पनि सानो हुँदैन थ्यो । मेरो फलानो अब नेपाल आउँदैन, उतै घर किनी सक्यो, यता जाबो ठाममा बसेर फुइøयाँ हुन्छ ? जो पायो त्यहाँ जानै पाउदैन भन्दै उतैको प्रशंसा मात्र गरेर सुन्नेका कान समेत टट्याउने बनाइदिन्थे । यतिबेला लौन मेरो आफन्तलाई स्वदेश ल्याइदिनु प¥यो भने हार गुहार गरिरहेका छन् । हाम्रा बुढापाकाले त्यसै भन्या होइन धेरै भएसी पोखिन्छ ।
बोल्दै बोल्दिन
स्वास्थ्ये मन्तरी भानुभत्ते ढकालको एउटा गज्जबको बानी रै’छ । हुन त सबैका आ–आफ्नै बानी हुन्छन् । कोही कार्यक्रममा ठस्ठस्ती उँगेर बस्ने हुन्छन्, कोही अमिलो मुख लगाएर बोल्ने हुन्छन् कोही हावा जोत्ने भन्दा अर्थोक जान्दैनन् तर ढकाल बाजेचाहिँ घरमा पाहुना आए भने कसैसँग बोल्दैनन् रै’छन् । बोल्नु पनि हुँदैन । आफ्ना घरका पाहुनासँग नबोली अरुसँग बोल्ने कुरा पनि भएन । घरमा पाहुना आ’छन् म अरुसँग बोल्दन भन्दा सञ्चारकर्मीले उपातै मच्चाए । विचराले घरमा पाहुना आ’छन् बोल्दिन भन्न नपाउनु ? यो त अलि हजम भएन । कोरोना भाइरसका विरुद्धमा मुलुकभरि कस्ता अभियान चलाइया छ भनेर सञ्चारकर्मीले सोध्न लाग्या थिए । अहिले संसारैभरि
कोरोनाले उत्पाद मच्चाएको सबैलाइ थाहै छ । थाहा भएको कुरामा किन बोल्नु भनेर बोल्देनन् । मन्त्री बोलेनन् भनेर कोरोना भन्दा पनि महामारी त मच्चाउनु भएन नि †
कोरोनाले मारामार
कोरोनाले सबैलाई टेन्सिन बनाइरा’ बेला नेपालका एकथरिलाइ बडो फलिफाप भएको छ । भुकम्प आउँदा पनि ती मालामाल हुन्छन, बाढी आउँदा पनि ती मालामाल हुन्छन्, डेंगु आउँदा पनि ती मालामाल हुन्छन् । अरुलाई दशा भएको बेला तिन्लाई चाहिँ दशै हुन्छ । सिंहदरबारमा बस्नेहरुचाहिँ बाहिरकाले द्या माया गरेर दिएका दान लुड्याउँछन् भने सिंहदबारसँग पहँुच भएकाहरु चाहिँ पहुँच नभएकाहरुलाई सताउँछन् । यतिबेला बजाराँ ५ रुपैयाँको मास्कलाई सौ रुपेय, १४ सौ को ग्याँसलाई ३४ सौ रुपए भटाभट लिइरा’छन् । खाद्यान्न विस्तारै गायव हुँदैछ । तिनका विरोध कस्ले गर्ने ? विरोध गर्नेलाइ उल्टै लाठी मुँग्री गर्छन् । सिंहदरबारले तिनैलाई काखी च्यापेको छ, पुलिस पर्सासन तिनकै अघिपछि लाग्छन् । ती जहिल्यै नि विपत्तिमा ढुँस्स मोटाउँछन् । विपत्ति नहुँदा अलि खिरिला हुन्छन् । यतिबेला तिन्लाई कोरोनाको हल्लाले खुबै साथ दिएको छ ।
चीनले सक्कली बनाएछ
चीनमा उत्पादन भएका सामानलाई सबैले होच्याउथे । चाइनिज समान भयो कि मुख विगार्थे । चाइना आज छ भोली छैन भन्थे । पछिल्लो पटक भने चाइनले बडो शक्तिशाली ब्राण्डेड सामान उत्पादन गरेर सांरैभरि ठेल्दिएको छ । कोरोना भाइरस नामको ब्राण्डेड सामानको सामना गर्न मै हुँ भन्ने राष्ट्रले पनि सक्या छैनन् । भोटेहरुले आइडियाचाहिँ लगाएकै हुन् । मान्नैपर्छ । जहिल्यै चाइनिज सामानको खिसीटेउरी गर्नेहरु पनि यतिबेला उसले उत्पाद गरेको कोरोना भाइरसको सामानले पसिना पसिना भएका छन् । अम्रिका जस्तो शक्तिशाली मुलुकका राष्ट्रपति ट्रम्प, रस्साका राष्ट्रपति पुटिन त हैरान भएका छन् भने अरु जेतेमेतेको गफै नगरे पनि भयो । जे होस् चाइनाको पछिल्लो उत्पादन चाहिँ ब्राण्डेड उत्पादनै रै’छ । त्यसले आइएलो नपाउने कुरै भएन ।
भाडा किन बढाएको रे
ती हवाई मन्तरीको कुरा सुन्दा नि घण्टाघरलाई हिजो आज उदेक लागेर आउँछ । कोरोना भाइरसको हाउगुजी फैलिएसी मान्छेहरु भागाभाग भा’छन् । बसवालाहरुले, हवाई मालिकहरुले ह्वात्तै भाडा बढाइद्या छन् । अस्तिका दिन हवाई मन्तरी योगेश भट्टराईले हवाई मालिकहरुलाई बोलाएर सोधेछन् भाडा किन बढाएको भनेर लठ्ठक मन्तरीलाई त्यति पनि थाहा भएन ? भाडा किन बढाएका भनेर ? कमाउन बढाएका हुन् । सिधै जवाफ छ मौका यही हो । सबै कमाउनैतिर लाग्ग्या छन् । ग्याँसवाला कमाउनै लाग्या छन्, मास्कवाला कमाउनै तिर लाग्या छन्, औषधिवाला कमाउनैतिर लाग्या छन्, खाद्यान्नवाला कमाउनै तिर लाग्या छन । आफ्नै श्रीमतिले तीन लान किन माग्या भनेर यसो सोच्नु पर्दैन ? मौका पाए भने नेपालीले गर्छन् भनेर आफ्नै पर्धानमन्तरी खप्रओले भन्या कुरा मनन गर्नुपर्दैन ? कि कसो हौ ?
भाग्यै बलियो
नेप्लिज लाँग्रेसक मुखिया स्यालबहादुरको खप्पराँ लक्करै लेख्या छ कि क्या हो ? फेरि तिनको मुखिया पदको आयु लम्बेला जस्तो छ । गलफत्ती हुँदा हुँदा बल्ल बल्ल स्यालबहादुरले महाधिवेशनको म्यादसम्म तोके । अब धमाधम क्रियाशील सदस्यता वितरण गर्नुपर्नेमा कोरोना भाइरसको हाउगुजी देखाएर त्यो पनि रोकिएछ । क्रियाशील
वितरण नभएससी’ महाधिवेशन नि अनिश्चित हुने भयो । अधिवेशन भए सभापतिमा उठम्ला भनेर खुट्टो उचालेर बस्या तनहुँका रामचन्द्रे बाजे, लगायत खिस्रिक्क प¥या छन् । इधम भ्रष्टम उद्यम भ्रष्टम । हैन हौ खप्परा नभएसी क्यै गरी नहुने रै’छ विचरा बाजेले साह«ै डोठ्याङ्ग खाए । कहिल्यै प्रधानमन्तरी पनि हुन पाएन । पर्धानमन्तरीको पालो सबैले पु¥याइसके । बाजेचाहिँ विचरा मनको लड्डु घ्युसँग खा भनेझै भा’छ ।
अन्तेमा
प्रदेश नं. १ को सरकारले अस्तिका दिन केन्द्र सरकारलाई गज्जबको आग्रह गरेछ । पर्देश
सरकारको आग्रह सुनेर केन्द्र सरकार पनि दंगदाश प¥या होला । नपर्ने पनि कुरो भएन कोरोना भाइरसको संक्रमण बढ्यो भनेर पर्दैश सरकारले भारतसँगको सबै नाका बन्द गर्न भन्या रै’छ । नाका बन्द गरेी मुखमा चाहिँ के हाल्नु ? ग्याँस उतैबाट आउँछ, डिजेल पटे«ोल उतैबाट आउँछ । आलु प्याज उतैबाट आउँछ । नुन तेल उतैबाट आउँछ , दालचामल उतैबाट आउँछ । नाका बन्द गरे मुखमाचाहिँ हाल्नु पर्दैन ? केन्द्र सरकारले नाका बन्द गर्दिया भने पर्देशका जनता भारतले फेरि नाकाबन्दी ग¥या भनेर सडकमा उफ्रे प्रदेश सरकारले के गर्ला ? जथाभावि निर्नय गर्नु त भएन नि । कि पर्देश सरकारले पर्देशका जन्तालाई टन्न पुगुन्ज्याल दैनिक उपभोग्य वस्तु दिनुप¥यो । हैन भने पाङदुरे निर्नय गरेर जग किन हँसाउनु ? कि कसो हौ ?
