लिम्बुहरुको सांस्कृतिक पहिचान बोकेको चासोक तङनाम सकियो

धरान÷ मंसिरे पूर्णिमामा आदिवासी जनजातिहरुले उद्यौली पर्व मनाउन परम्परा रहेको छ । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुल चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुले चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् ।
यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि तीनदिनसम्म भव्य रुपमा मनाएका छन् ।
सामुहिक रुपमा मनाउन थालिएको यो पर्वमा पछिल्लो समय युवा वर्गले समेत आफ्नो मौलिक पर्व जोगाउन जागरुक देखिएका छन् । बहुभाषिक, वहुजातीय मुलुक नेपालको पहिचान झल्काउन भएपनि चासोक तङनाम पर्वलाई युवा पुस्तासम्म जोगाउन आवश्यक रहेको लिम्बु युवा प्रदीप नियोङ बताउनुहुन्छ । उहाले आफ्ना सांस्कृतिक पर्व अग्रजहरुबाट सिकेर युवापुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
यता युवा राजनीतिककर्मी समेत आफूहरुको पहिचान जीवन्त राख्नुपर्नेमा जोड दिन्छन । स्वतन्त्र विद्यार्थी युनियनका सभापति सागर सगरम चेम्जोङले जुनसुकै जातिको सांस्कृतिक पर्व उसको गहना भएकोले अब यस्ता पर्वमा युवा पुस्ताको सहभागिता बढी भएको बताउनुभयोे ।
पछिल्लो समय लिम्बुहरु धन आर्जनका लागि विदेश पलायन हुने, गाउ घरबाट बसाई सराई गरेर सहर बजार आउने क्रमले तिब्रता पाएसंगै उनीहरुका संस्कृति हराउदै गएको लिम्बुहरुका अग्रज, युवा पुस्ता सबैलाई चिन्ताकको विषय बनेका छ । यसैले गर्दा लिम्बुहरुको संस्कृतिलाई जीवन्तता राख्न ६ बर्ष अगाडि धरान १५ मा आफ्नो भवन निर्माण गरेका छन् । र त्यही भवनमा उनीहरु सामुहिक चासोक तङनाम मनाउने गर्छन् ।
किरात याक्थुङ चुम्लुङका सुनसरी सचिव ताजुव लिम्बुले वहुभाषिक, वहुजातीय मुलुक नेपालमा पछिल्लो समय सबैको सांस्कृतिक पर्वलाई राज्यले समेत सकारात्मक ढंगबाट हेरेको बताउनुभयो । युवा पुस्तामा यो पर्वलाई जागरुक गराउन आफूहरुले समय समयमा प्रशिक्षण दिने गरेको उहाले बताउनुभयो ।
चासोक तङनाम पर्वमा लिम्बु जातिहरुको परम्पारगत पूजासँगै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति समेत रहेको थियो । यसरी सामुहिक रुपमा चाड पर्व मनाउने परम्पराको थालनीसंगै लिम्बु जातिहरुका सन्तानले समेत प्रत्यक्ष रुपमा आफ्नो संस्कृति नियाल्न पाएका छन् । सामुहिक रुपमा मनाइएको यो पर्वले युवा पुस्ता समेत आफ्नो सांस्कृतिक पर्वका संरक्षणमा जागरुक हुने विश्वास अग्रजहरुको छ ।

 

तपाईको प्रतिक्रिया