धरान÷नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुले विस्तारै अधिकनायकवाद लाद्दै गएकोले उसलाई सही ट्रयाकमा ल्याउन पनि नेपाली कँग्रेसले उप निर्वाचन जित्नुपर्ने बताउनु भएको छ ।
यही मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रत्यासी बन्नु भएका तिलक राईलाई मत दिएर धरान र धराने जनताको विकास र समृद्धिमा सहभागी बन्न पनि पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो यो निर्वाचनले केन्द्रमा सरकार बनाउने हैन तर धरानको भविष्य निर्धारण गर्न सक्छ । आज धरानमा विकास नहुनुको प्रमुख कारण जहिल्यै पनि कम्युनिस्टहरुले जित्दै आएको दम्भ हो । हामीले यहाँ जे गर्दा पनि हुन्छ, यो हाम्रो गढ हो भन्ने दम्भ उहाँहरुमा रहेकोले धरानको निर्वाचन नेपाली काँग्रेसको मत सर्भेैक्षण र वर्तमान कम्युनिष्ट सरकारलाई सन्देश दिन पनि जित्नै पर्ने भएको उहाँले प्रष्ट पानुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री महेश आचार्यले यस पटक नेपाली काँग्रेसमा मतदान गर्न सम्पूर्ण धरानका मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो तीस बर्ष अगाडि धरान जस्तो थियोे आज पनि त्यस्तै छ । तीस बर्षदेखि कम्युनिस्टहरुले धरानेहरुलाई ढाँट्दै आएका छन् । आज हङकङमा चीनको बलियो कम्युनिस्ट पार्टीले लज्जास्पद पराजय व्यहोरेको तर्फ इंगित गर्दै आगामी मंसिर १४ गतेको निर्वाचनमा समेत धरानबासीले प्रजातन्त्र, विकास र समृद्धिको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी नेपाली काँग्रेसका युवा नेता तथा प्रखर वक्ता गगन थापाले भन्नुभयो धरानले हरेक दृष्टिले पहिचान बनाएको छ । यहाँबाट निर्वाचनमा नेपाली काँग्रेसले जितेमा केन्द्रमा केही बदलिदैन तर एउटा सन्देश जान्छ यो हाम्रो किल्ला हो, हामीले यहाँ जे गरेपनि धरानबासीले स्विकार्छन् । यो निर्वाचनमा जित्नेको पदावधि दुई बर्षको हो । तपाईहरु एक पटक स्वाद बदलेर हेर्नुस, तिलक राई काँग्रेसका उमेद्वार हुनुहुन्छ उहाँलाई निर्वाचित गराउनु भयो भने तिलक राई तपाईहसँग थर थर काप्ने छन् । किनकी यो मेरो किल्ला होइन, यो मेरो ठाउँ हैन । तर यहाँका जनताले मलाई जिम्मा दिएर पठाएका छन् । यदि मैले केही गर्न सकिन, चुके भने धरानबासीले मलाई छाड्दैनन् भन्ने उनमा हुन्छ । त्यसैले आजसम्म सूर्यमा मतदान गर्नेले पनि यस पटक रुखमा भोट दिएर विजयी गराउनुस् । २०६३ सालपछि धेरै सरकार भए । गिरिजा प्रसादले ०६३ सालमा निर्वाचन गराउँदा खुमबहादुले दाङ, बलबहादुरले सोलुखुम्बु छोड्ने प¥यो । निर्वाचनमा उमेदवारले मैदान छोडदै गर्दा पनि काँग्रेसले भन्यो यो निर्वाचन गराएरै छाड्छौं । त्यसो भन्नुको प्रमुख कारण सरकार बनाउन हैन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु थियो ।

केन्द्रीय सदस्य समेत रहनु भएका थापाले भन्नुभयो हाम्रो नेता शुशिल कोइरालाले बोलेको मैले त्यसबेला बुझिन तर पछि थाहा पाए हामीसँग शक्ति धेरै छ शक्ति धेरै भएपनि जिम्मेवारी धेरै हुन्छ । त्यसबेला सुशिल कोइरालाले केपीले जस्तै बुझ्ने गरी बोलेको भए आज केपी ओली, प्र्रचण्ड नेपाल कम्युनिस्ट पार्टीको कार्यकारी अध्यक्ष हुने थिएनन् । प्रचण्डको हैसियत आजको जस्तो हुने थिएन । उनीहरुको हैसियत विप्लवले जस्तै कुनै डाडामुनी बसेर कार्यकर्ताले ल्याएको चन्दा गनेर बस्नुपर्ने दिन आउथ्यो । त्यसबेला हाम्रो उद्देश्य सरकार बनाउनु नै थिएन । सुशिल कोइरालाको नेतृत्वमा संविधानसभा हुदै गर्दा काँग्रेस एमालले दुई तिहाई बहुमतले संविधान बनाउन लागे भनेर माओवादीले असहमति गर्दै संविधानसभामा माइक फोडे, कुर्सी भाचे । केपी ओलीले त्यसबेला भनेका थिए काँगेसका नेताहरु लुला छन्, खुट्टा कमाएका छन्, बोल्न सक्दैनन, माओवादीलाई ठेगान लगाउनुपर्छ भनेका थिए । आज ७ प्रदेशमा सरकार छ सबैतिर उनीहरुकै हालीमुहाली छ, बाहिर केही टेन्सन छैन र पनि काम गर्न सक्नु भएको छैन । आज धरानको अवस्था पनि त्यस्तै छ । तीस बर्षदेखि शासन गरेको कम्युनिस्टले धरानमा केही गर्न सकेनन् । त्यसैले यस पटक काँग्रेसलाई मत दिनुस् उहाँको आग्रह थियो ।
नेपाली काँग्रेसका प्रत्यासी तिलक राईले धरानको भाग्य र भविष्य निर्माण गर्न सबै वर्ग र समुदायका व्यक्तिसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । १० पन्ने २० पन्ने घोषपापत्र जारी गरेर ३० बर्षदेखि धरानमा शासन गर्द आएका कम्युनिस्टहरुले के गरे उहाँको प्रश्न थियो । आज मजदुर, व्यापारी, सर्वसाधारयण सबैले तपाईले चुनाव जित्नु भयो मञ्चबाटै घोषणा गर्दा पनि हुन्छ भन्दै गरेको अवस्थामा धरान नगरपालिकाका भ्रष्ट कर्मचारीहरुको ओठ मुख सुकेको छ भने इमान्दार कर्मचारीहरु स्वागत गर्न आतुर भएका छन् । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्गदेम्बे, डिला संग्रौला समेतले धरानको विकास र समृद्धिका लागि काँगे्रसलाई जिताउन आग्रह गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव सुजेन्द्र तामाङ्गले गर्नुभएको
थियो ।
