धरान÷असोज १२ गते सिराहाको लहान स्थित कृषि विकास बैंकको सिस्टम ह्याक गरी चार करोड ७३ लाख रुपैयाँ निकालिएको घट्ना यतिबेला थप पेचिलो बन्दै गएको छ ।
बैंकको सिस्टम ह्याक गरेर रकम निकाल्ने काम भारतमा आतंककारी घट्ना घटाउने उद्देश्यले भएको आशंका भारतको उत्तर प्रदेश प्रहरीले गरेपछि बैंक ह्याकिङ्ग घट्नाले नयाँ मोड लिएको हो । नेपाल प्रहरीले बैंक ह्याकिङ्ग योजनाका मुख्य योजनाकारका रुपमा भारतीय नागरिक मोमताज मियाँको खोजी गरिरहेको छ भने भारत उत्तर प्रदेशको प्रहरीले आतंककारीको रुपमा मियाँको खोजी गरिरहेको छ ।
मियाँ दुवै देशका प्रहरीको सर्वाधिक खोजीमा रहेका छन् । मोमताज मियाँका सम्बन्धमा भारतबाट प्रकाशित हुने नव भारत टाइम्सले समेत गत मंगलबारको अंकमा प्रमुखताका साथ समाचार सम्प्रेषण गरेको छ । नव भारत टाइम्सले लेखेको छ भारतीय गृह मन्त्रालय र उत्तर प्रदेशका डिजिपी ओपी सिंहले दिएको जानकारी अनुसार बैंक ह्याकिङ्ग घट्नामा नेपाल प्रहरीले संलग्नताको आरोपमा प्रक्राउ गरेका १७ जना मध्ये कैलालीका चन्द्रबहादुर बुढा, विजयसाहले मोमताज मियाँको नाम लिएका थिए । भारतले मोमताज मियाँको खोजी गरेको जानकारी पाउनासाथ नेपाल प्रहरीले भारतीय प्रहरीले आशंका गरेको हो या होइन भन्ने कुरामा केन्द्रित भएर अनुसन्धान गर्ने जनाएको छ । यस सम्बधमा बुझ्न नेपाल
प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोख्रेलसँग ९८५१२९२१११ मा पटक पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन ।
भारतको गृह मन्त्रालय र उत्तर प्रदेशको प्रहरीको आशंका पछि नेपाल प्रहरीले नेपालका मुस्लिम वाहुल्य रहेका स्थानहरुमा निगरानी बढाएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ । मियाँ तराइका कुनै मुिस्लम बस्तीमा लुकेको हुन सक्ने आशंका नेपाल प्रहरीको रहेको छ । खासगरी सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, बारा, पर्सा रौतहट लगायत तराईको पूर्व पश्चिम राजमार्ग भन्दा दक्षिण भारतीय सीमावर्ती क्षेत्रहरुमा नेपाली मुस्लिमहरुको बाहुल्यता रहेको र यहीका ठाउँमा मोमताज मियाँले आश्रय लिएको हुनसक्ने नेपाल प्रहरीको आशंका रहेको छ । सप्तरीका एक प्रहरी अधिकारीले भने सप्तरीको थलही, राजविराज, मध्यबसाईन, कनकपट्टी, नर्भोै, कोहरपट्टी जस्ता ठाउँहरु नेपाली मुलमानहरुको बाहुल्यता रहेको क्षेत्र हो । यसैगरी सुनसरीको भोक्राहा, हरिनगरा,रामनगर भुटाहा, श्रीपुर, हरिपुर, बसमतिया, लौकहीजस्ता स्थानहरुसमेत मुस्लिम वाहुल्यता रहेका क्षेत्रहरु हुन् । रौतहटको नरकटियागञ्ज, वारा, पर्साका दक्षिणी क्षेत्रहरुसमेत मुस्लिम बाहुल्यता रहेका क्षेत्र भएकोले प्रहरीले यी ठाउँहरुमा निगरानी बढाएको उनले बताए ।
भारतीय प्रहरीले मोमताज मियाँले आंतकारी गतिविधिका लागि पैसा संकलन गरेको आरोप लगाउदँै आएको छ । मियाँसगै पाकिस्तानी आतंककारीहरुको संलग्नता रहेको उसको आशंका रहेको छ । भारतको उत्तर प्रदेश प्रहरीले गत आइतबार चार जनालाई एक लाख ३५ हजार नेपाली रुपैया र ४ लाख ७५ हजार भारतीय रुपैया सहित प्रक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट बरामद गरको रकमका बारेमा सोधपुछ गर्दा उनीहरुले भारतीय नागरिक मोमताज मियाँको नाम बताएका थिए । उत्तर प्रदेश प्रहरीले उमेद अलिको साथबाट दुई लाख, सञ्जय अग्रवालको साथबाट १ लाख ४५ हजार नेपाली रुपैया, समिर सलामानीका साथबाट १ लाख ६० हजार भारतीय रुपैया, एराज अलीका साथबाट १ लाख २५ हजार भारतीय रुपैया बरामद गरेको थियो । उत्तर प्रदेशका डिजिपी ओपी सिंहको भनाई उद्यृत गर्दै नव भारत टाइम्सले लेखेको छ नेपाली बैंकका खातामा यो रकम कसरी आयो ? रुपैयाँको स्रोत के हो ? यसमा नेपालमा कसको संलग्नता छ ? यी सबै कुराको अनुसन्धान हुन्छ, खोजी हुन्छ । नेपाली बैंकमा स्रोत नै उल्लेख नगरी जम्मा भएको रुपैया अन्यत्र पठाउने काममा भारतीय आतंककारी र पाकिस्तानी आंतकारीको हात हुन सक्ने सिंहको आशंका रहेको छ । कृषि विकास बेैक लहान शाखाको सिस्टम ह्याक गरेर रकम निकाल्ने काममा पिटर काले भनिने व्यक्तिको समेत संलग्नता रहेको आशंका नेपाल प्रहरीले गरेको र हाल उनको समेत खोजी भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
