मलेसियाविरुद्ध २ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दुवै खेल जित्दै नेपालले सिरिज ‘क्लिन स्विप’ गरेको छ ।
नेपालले आइतबार भएको दोस्रो खेलमा मलेसियलाई ६ रनले पराजित ग¥यो। यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन जोड्यो । जवाफी ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाएर १६७ रन मात्र जोड्न सक्यो ।यो खेलमा नेपालले मुख्यतः पाँच वटा रेकर्ड बनाएको छ ।
उच्च रन
६ विकेटको क्षतिमा १७३ रन बनाउनु नेपालको टी–२० अन्तर्राष्ट्रिय खेलमा उच्च स्कोर हो ।
यसअघि नेपालको टी–२० अन्तर्राष्ट्रिय खेलमा उच्च स्कोर १४९ रन थियो । सन् २०१४ को टी–२० विश्वकपमा नेपालले हङकङविरुद्ध ८ विकेटको क्षतिमा १४९ रन जोडेको थियो ।
पहिलो क्लिन स्विप
नेपालले टी–२० अन्तर्राष्ट्रिय सिरिज पहिलो पटक २–० क्लिन स्विप गरेको हो ।५ महिनाअघि युएई विरुद्धको ३ खेलको सिरिज नेपालले २–१ ले जितेको थियो । सो जित नेपालको पहिलो सिरिज जित हो । त्यसअघि नेपालले नेदरल्यान्ड्स र हङकङविरुद्धको टी–२० सिरिज गुमाएको थियो ।
दुवै इनिङमा गरी उच्च योगफल
नेपाल र मलेसियाबीच भएको दोस्रो खेलमा दुवै इनिङमा गरी १३ विकेटको नोक्सानीमा ३४० रन बन्यो । यो योगफल नेपालले खेलेको टी–२०
अन्तराष्ट्रिय खेलको उच्च हो । यसअघि गत जनावरीमा युएईविरुद्धको खेलमा २८५ रन बनेको थियो ।
कम अन्तरको जित
मलेसियामाथि हात पारेको ६ रनको जित नेपालको टी–२० अन्तर्राष्ट्रिय खेलको कम अन्तर (रनको आधारमा) को जित हो ।
यसअघि रनको आधारमा कम अन्तरको जित अफगानिस्तानविरुद्ध थियो। सन् २०१४ को टी–२० विश्वकपमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो । त्यतिबेला नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १३३ रन मात्र बनाउन सकेको थियो ।
नेपालले विकेटको आधारमा कम अन्तरको जित भने नेदरल्यान्डविरुद्ध
(३ विकेट) हात पारेको छ । सन् २०१५ नेपालले नेदरल्यान्ड्सले दिएको १४० रनको लक्ष्य २ बल बाँकी छदा ७ विकेटको क्षतिमा पार गरेको थियो ।
विनोदको छिटो अर्धशतक
आइतबार विनोद भण्डारीले नेपालका लागि टी–२० खेलमा छिटो अर्धशतक बनाउने रेकर्ड पनि कायम गरे ।
उनले २५ बलमा अर्धशतक पूरा गरेका थिए। नटआउट ५१ रन जोडेका विनोदले ३ चौका र ५ छक्का हिर्काए ।
यसअघि यो रेकर्ड कप्तान पारस खड्काको नाममा थियो । उनले शनिबार मलेसियाविरुद्ध नै ३२ बलमा अर्धशतक प्रहार गरेका थिए ।
पारस नेपालका लागि टी–२० खेलमा २ अर्धशतक बनाउने एक्ला खेलाडी हुन् । टी–२० खेलमा नेपालका लागि सुवास खकुरेल र सन्दीप जोराले पनि अर्धशतक बनाएका छन् ।
