१३ औं सागको नया“ मिति घोषणा

धरान÷नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको नयाँ मिति घोषणा भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा शनिबार साँझ भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको नयाँ मिति घोषणा गरेको
हो । अब १३औं साग सन् २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै आयोजना हुनेछ । बैंककमा जारी ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठकमा सागको पनि नयाँ मिति तय गरिएको हो ।
नेपालको भौतिक संरचनाको कमीका कारण तीनपटक सारिएको साग यसअघि यही मार्च महिनाका लागि तय भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को दुई महिना अघि बसेको बोर्ड बैठकले दशरथ रंगशाला लगायत भौतिक संरचनाको निर्माण सम्पन्न भईनसकेको भन्दै नेपाल ओलम्पिक कमिटि मार्फत दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई साग सार्न पत्राचार गरेको थियो ।
नेपाल सरकारले सेप्टेम्बरसम्म साग गर्न सकिने प्रस्ताव राखेपनि काउन्सिलले डिसेम्बरका लागि नयाँ मिति दिएको हो । ओसिएको बैठकमा नेपालबाट नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष धिरेन्द्र प्रधान, कोषाध्यक्ष रतन टण्डन सहभागी थिए ।
सागको १२औं संस्करण सन् २०१६ फेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको थियो । दुई बर्षमा हुने पर्ने साग नेपालले आयोजनाको अधिकार पाएसँगै तीबर्षसम्म पनि हुन सकेको छैन । काठमाण्डौं र पोखरामा हुने १३औं सागमा ह्यान्डबल, जुडो, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल गरी २७ खेल समावेश गर्ने निर्णय यसअघिनै तय भईसकेको छ । नेपालले आयोजकको हिसावले सागमा कराँते र गल्फ खेल थप्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया