धरान÷निर्धारित समय भन्दा अगावै शनिवार धरान उपमहानरपालिकाको सभा हल लेखक, साहित्यकारहरुबाट खचाखच भरिएको थियो । भानुका ज्योति मोतिराम भट्टको १५३ औ जन्म जयन्ति मनाउन धराने साहित्यकार,लेखक समय अगावै कार्यक्रम स्थल पुगेका थिए । मोति संस्मरण समितिले एक दिन अगावै जुराइदिएको त्यस अवसरलाई लेखक तथा साहित्यकारहरुले भरपुर रसिक बनाएका थिए ।
कविता, गजल वाचनको दोहारी नै चलेको कार्यक्रममा प्रमुख आकर्षक व्यक्तित्व हुनुहुन्थ्यो भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने । आमन्त्रितको रुपमा कार्यक्रम स्थल प्रवेश गर्नुभएका उहाँलाई प्रमुख अतिथिका रुपमा आसनग्रहण गराइँदा एकछिन उहाँ पनि अक्क न बक्क पर्नुभएको थियो । तुरुन्तै समितिका अध्यक्ष गोविन्द तिम्सिनाले सरप्राइज भनेपछि सभाहल एकछिन तालीले गुन्जायमान भएको थियो ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको देहावसान हुँदा मोतिराम भट्ट दुई बर्षका नावालक थिए । तर तिनै मोतिरामले भानुभक्तलाई नेपाली साहित्यमा उज्यालो नक्षत्रका रुपमा चिनाएनन् मात्र स्वयम् मोतिराम भट्टले कविता, गजल र दर्जनौ पुस्तकहरु छोड्नु भएको थियो । कविता, गजल, समास्याप्रति कविता वाचन गर्नेहरुमा हिक्मत खड्का, गिरिराज आचार्य, रामप्रसाद अधिकारी, कमल दाहाल, प्रा.डा. भिम खतिवडा, जनार्जन वस्ती, प्रा.डा. गोपाल भण्डारी, उप प्रा.डा. महानन्द तिम्सिना, भरतमणि भट्टराई (सेर्नाली), गृष्म न्यौपाने, इन्दु योन्जन, नवराज मैनाली, प्रफुल्ल भण्डारी, लम्जेल संघर्षशील, सिद्धिकर्ण शर्मा लगायत रहनु भएको थियो ।
सो अवसरमा बोल्दै प्रा.डा. टंक न्यौपानेले मोतिराम भट्टले नेपाली साहित्यको उत्थानमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले हाल स्थानीय निकाय, प्रदेश र संघले वृद्धि गरिएको कर सम्बन्धमा वाचन
गरिएका कविता, गजलको प्रसंगमा कर बढी भयो भनेर विरोध गर्नुको सट्टा आफूले तिरेको करबाट बढी सुविधा खोज्नु सान्दर्भिक हुने बताउनुभयो । प्रा.डा. गोपाल भण्डारीले मोतिराम भट्टका प्रकाशित १४ र अप्रकाशित १३ पुस्तक तथा रचनाहरुको चर्चा गर्नुभएको थियो । प्रा.डा. भिम खतिवडाले मेतिरामको श्रृंगारिक गजलको उल्लेख गर्दै ३० बर्षको छोटो उमेरमा उनले पु¥याएको साहित्यिक योगदानका बारेमा प्रकाश पार्नुभएको थियो ।
मोति संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य श्रीमति अम्बिका शाक्यले गर्नुभएको थियो भने सञ्चालन सुदिप पाख्रिनले गर्नुुभएको थियो ।

