बर्षाले करोडौको मूल्यको उद्योगमा क्षति

शुक्रबारदेखि लगातार तीनदिनसम्म आएको अविरल बर्षाले तराई क्षेत्रमा हरेक क्षेत्र प्रभावित बनेको छ ।
यसैक्रममा सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा रहेको नेपालकै सबैभन्दा ठूलो धागो उत्पादन गर्ने उद्योग रिलायन्स स्पेनिङ मिल्स डुबानमा पर्दा त्यहाका अत्याधुनिक उपकरण विग्रिएपछि उद्योग सञ्चालनमा कठिन भएको छ ।
भारीमात्रामा आएको बर्षाले टेंग्राखोलाबाट आएको बाढी इटहरी १० मा रहेको सो मिलमा पसेको थियो । उद्योगभित्र पसेको पानीले त्यहा रहेका अत्याधुनिक उपकरण, धागो उत्पादन गर्ने कच्च पदार्थ डुबानमा पर्दा करोडौ रुपैया क्षति भएको उद्योगका जोइन्ट प्रसिडेन्ट डिवी तिवारीले जानकारी दिनुभयो ।
डुबानमा परी १ करोडदेखि २५
करोडसम्मका उपकरण विग्रिएर थन्किएपछि काममा बाधा भएको उहाको भनाई छ । ३ हजार ५ सय मजदुर रहेको यस मिलमा काम रोकिएसंगै उनीहरुको रोजीरोटी समेत गुमेको छ ।
करोडौ लगानी गरेर सञ्चालन भएको उपकरण, भारत तथा तेस्रो मुलुकबाट ल्याइएको करोडौको मूल्य पर्ने कच्चा पदार्थ समेत डुबानमा परेर नष्ट भएका छन् । उद्योगभित्र ३ देखि ४ फिट पानी जमेको जोइन्ट प्रेसिडेन्ट तिवारीको भनाई छ ।
यहा उत्पादन भएका धागो नेपालमा भन्दा पनि भारत लगायत टकी तथा युरोपियन देशहरुमा निर्यात हुने गरेको थियो । उद्योग चल्न नसकेपछि अहिले उद्योगले दैनिक
करोडौको नाक्सानी व्यहोर्नुपरेको छ भने सरकारको राजस्व समेत गुमेको छ ।
उपकरण मर्मतका लागि भारतको हरियाणा, जर्मनीबाट दक्ष प्राविधिक उद्योगमा आइसकेकाले मर्मत गर्न कति समय लाग्छ र कहिलेदेखि सञ्चालन हुन्छ भन्ने विषयमा उद्योग सञ्चालकहरु नै अन्योलमा रहेका छन् ।

तपाईको प्रतिक्रिया