भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षीमा विद्यालय भवनको शिलान्यास

धरान । भारत सरकारको आर्थिक सहयोगमा कोशी प्रदेशको झापा जिल्लास्थित शिवसताक्षीमा अत्याधुनिक एवं विद्यार्थीका लागि सम्पूर्ण सुविधायुक्त विद्यालय भवन निर्माण हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ स्थित निर्माण हुने जन आदर्श माध्यमिक विद्यालय भवनको असार १७ गते बुधबार नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियाल, कोशी प्रदेशका प्रदेशसभा सदस्य राधाकृष्ण खनाल र शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले एक विशेष समारोहबीच संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा करिब रु. ३ करोडको लागतमा विद्यालय भवन निर्माण हुने भएको हो । उक्त विद्यालय भवन निर्माण परियोजना शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिने भएको छ ।


सो अवसरमा बोल्दै भारतीय राजदूतावासकी द्वितीय सचिव नौटियालले भन्नुभयो, “भारत सरकार नेपालको समृद्धिका लागि सदैव हातेमालो गर्न तयार रहेको छ।“ आफ्नो छोटो मन्तव्यमा उहाँले भन्नुभयो, विद्यालय भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले सहजता महसुस गर्नेछन् । यसैगरी कोशी प्रदेशसभा सदस्य खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्रा लगायत अन्य सहभागी एवं सरोकारवालाहरूले भारत सरकारले प्राथमिकताका आधारमा शिवसताक्षीमा रहेको आदर्श मावि भवन निर्माणका लागि उपलब्ध गराइएको आर्थिक सहयोगप्रति खुसी व्यक्त गर्दै प्रशंसा गर्नुभएको थियो । उहाँहरूले विद्यालयको पूर्वाधार निर्माणले विद्यार्थीहरूले अध्ययनको अनुकूल वातावरण पाउने र शिक्षक–शिक्षिकाहरूलाई पनि अध्यापनमा सहजता हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया