वर्तमान सरकार गठन भएको तीन महिना । तीन दशकसम्म आफू र आफन्तको व्यवस्थापन गर्न लुटधन्दामा संलग्न पुराना राजनीतिक दलका नेतृत्वहरूमा यतिबेला बेचैनी बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिक जनमत ल्याई सरकार गठन गरेसँगै पुराना दलका नेता, उनीहरूबाट राजनीतिक नियुक्ति लिएकाहरू, तिनै दलको आवरणमा स्थानीय निकायहरूको नेतृत्व लिई लुटमा संलग्नहरू सबैमा बेचैनी बढेर गएको छ । आफूलाई कानुनभन्दा माथि सम्झने, कानुनको धज्जी उडाउँदै राज्यका हरेक क्षेत्रमा लुटको श्रृंखलासँग जोडिएकाहरूमाथि सरकारले सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग र स्पेसल टोली गठन गरी अनुसन्धानलाई अगाडि बढाउने र धरपकड गर्ने, शंकास्पद व्यक्तिहरू भाग्न नपाऊन् भन्ने उद्देश्यले पासपोर्ट रोक्का गर्ने, राज्यका संयन्त्रबाट निगरानी गर्ने लगायतका कामले यतिबेला तीव्रता पाएको छ । भर्खरैमात्र पदीय आडमा खरबौं भ्रष्टाचार गरेका एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनको अवैध सम्पत्तिको अनुसन्धान भइरहेको छ भने माओवादीका पूर्व अध्यक्ष एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालका आर्थिक व्यवस्थापन सहयोगी अजय सुमार्गीको पासपोर्ट रोक्का गरिएको छ । उता एमाले अध्यक्ष केपी ओलीका दर्जनौं घोटालाका फाइलहरू धमाधम खुल्दै गएको, नेपाली कांग्रेस नेतृ आरजु राणाको हरेक घोटाला काण्डमा संलग्नता पुष्टि भएपछि पक्राउका लागि अदालतद्वारा जारी पक्राउ आदेश तिनको घरमा टाँस गरिएको छ । यसभन्दा अगावै कांग्रेस नेतृत्व शशांक कोइरालाको निकट र उनैकै सिफारिसमा मन्त्री बनेका दीपक खड्का पक्राउ परिसकेका छन् । कांग्रेसका वर्तमान सभापति गगन थापादेखि एक दर्जनभन्दा बढी नेताहरूको अवैध आर्जनको अनुसन्धान अगाडि बढिसकेको छ भने माओवादी, एमाले र मधेशवादी दलका नेताहरूको त्यत्तिकै संख्यामा अनुसन्धानसँगै पक्राउको तयारी भएको छ ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमाले वृत्तमा भुइँचालो गएको छ । पौडेल पक्राउको विरोधमा भाडामा सडकमा उफारिएका कथित कार्यकर्ताहरूमाथि राज्य संयन्त्रबाट बल प्रयोग गरिँदा आम नेपालीहरूले खुसी व्यक्त गरेका छन्। विगतमा आन्दोलनकारीहरूमाथि प्रहरीको धरपकड, पक्राउ हुँदा आक्रोश व्यक्त गर्नेहरू यतिबेला खुसी व्यक्त गर्दैछन्। भ्रष्टका मतियारहरूलाई ठोकाइ अझ पुगेन भनेर धारणा राखिरहेका छन् । कस्तोसम्म परिस्थिति देखिएको छ भने अब पुराना दलका कुनै पनि नेता पक्राउ परे पनि सहानुभूति प्रकट गर्ने कोही देखिँदैन । कुन बेला आफ्नो गिरफ्तारी हुने भन्ने चिन्ताले पुराना दलका नेताहरूमा बेचैनी बढेको मात्र नभएर पलायन हुने अवस्था समेत रहन थालेको छ । यतिबेला उनीहरू ढिलोचाँडो आफूहरू कानुनको फन्दामा परिने त्रासले बर्बराउन थालेका छन् । वर्तमान सरकारका विरुद्धमा सशक्त आन्दोलन गर्न एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र केही मधेशवादी दलहरू अब मिल्नुको विकल्प नभएको धारणा व्यक्त गर्न थालेका छन् । पछिल्लो समय एमाले र माओवादीको नेतृत्व सबैभन्दा बढी आत्तिएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले त आन्दोलनको आँधीबेहरी ल्याउन एमालेसँग मिल्नुको विकल्प नरहेको धारणा व्यक्त गरिसकेका छन् । उनीहरूलाई राम्ररी ज्ञान पनि छ, त्यो के भने कांग्रेस, एमाले र माओवादी मिल्दा समेत आन्दोलनले उचाइ लिन सक्दैन, त्यो निरर्थक हुनेछ । यसको प्रमुख कारण अब यी तीनै दलसँग कार्यकर्ता अभाव छ र भ्रष्टलाई जोगाउन आन्दोलनको औचित्य रहँदैन । इमानदार कार्यकर्ता स्वयं नेतृत्वमाथि कारबाही हुनुपर्ने कुरामा द्विविधामा अब छैनन् ।
