पर्यटकको सुरक्षामा संवेदनशील र व्यावसायिक बन्न प्रहरी प्रमुख घिमिरेको निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको तत्वावधानमा सञ्चालन भएको सात कार्यदिनको दोस्रो समूहको ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम आइतबार सम्पन्न भएको छ । तालिमको समापन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेको प्रमुख आतिथ्यतामा गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै डीआईजी घिमिरेले कोशी प्रदेशमा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको अवलोकन र भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा सुनिश्चित गर्नु पर्यटक प्रहरीको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले पर्यटकलाई सुरक्षित, सहज र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउन पर्यटन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै शान्ति–सुरक्षा, उद्धार, सूचना प्रवाह तथा आवश्यक सहजीकरणमा उच्च व्यावसायिकता र जिम्मेवारीका साथ खटिन निर्देशन दिनुभयो ।

उहाँले तालिमका क्रममा प्रशिक्षार्थीहरूले उठाएका जिज्ञासाको समेत समाधान गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सात कार्यदिनसम्म सञ्चालन भएको तालिममा पर्यटक सुरक्षा, सेवा प्रवाह, पर्यटकसँगको व्यवहार, उद्धार तथा समन्वयलगायत विविध विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो । तालिममा कोशी प्रदेशअन्तर्गतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान गरी ३० जना प्रहरी कर्मचारी सहभागी भएका थिए । समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, नारायणप्रसाद चिमरिया, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रहरीले पर्यटन क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, व्यावसायिक र पर्यटकमैत्री बनाउने उद्देश्यले यस्ता अनुशिक्षण तालिमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया