स्वास्थ्यकर्मीको शल्यकौशल अभिवृद्धिमा एनएमए धरानको पहल : बीपी प्रतिष्ठानमा आधारभूत शल्यकौशल तालिम सम्पन्न

धरान .नेपाल चिकित्सक संघ (एनएमए) धरान शाखाद्वारा आयोजित आधारभूत शल्यकौशल तालिम–२०२६ आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरानमा सफलतापूर्वक सम्पन्न भएको छ। ताजा जनावरको तन्तु तथा शल्यकौशल अभ्यास उपकरणमा आधारित उक्त व्यावहारिक तालिमले स्वास्थ्यकर्मीहरूको शल्यकौशल तथा व्यावहारिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। नेपाल चिकित्सक संघ धरान शाखाको आयोजनामा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोग तथा जोन्सन एन्ड जोन्सन–एथिकनको प्रायोजनमा सम्पन्न तालिमको उद्देश्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आधारभूत शल्यकौशललाई थप सुदृढ बनाउनु रहेको थियो ।
कार्यक्रमको शुभारम्भ सहभागी तथा प्रशिक्षकहरूको उपस्थितिमा राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि नेपाल चिकित्सक संघ धरान शाखाका अध्यक्ष डा. अरुणकुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि यस्ता तालिमहरू अपरिहार्य रहेको बताए। उनले निरन्तर चिकित्सा शिक्षा र व्यावहारिक तालिममार्फत बिरामी सेवाको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा राखे। साथै, स्वास्थ्य क्षेत्रको क्षमता विकासमा नेपाल चिकित्सक संघ धरान शाखा सधैं प्रतिबद्ध रहने बताए।


कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले यस्ता व्यावहारिक तालिम समयको आवश्यकता भएको उल्लेख गर्दै आयोजकको पहलको प्रशंसा गरे। उनले चिकित्सा शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपको विकास अपरिहार्य रहेको बताउँदै युवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।
तालिममा शल्यचिकित्सा, कान–नाक–घाँटी रोग, नेत्ररोग, मुख तथा अनुहारसम्बन्धी शल्यचिकित्सा, हाडजोर्नी तथा नशा रोग, आपतकालीन चिकित्सा, स्त्री तथा प्रसूति रोग, मुटु तथा छातीसम्बन्धी रक्तनली शल्यचिकित्सा र शल्यकक्ष सेवासहित विभिन्न विभागका ६० जना सहभागीहरूको सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत आधारभूत शल्यकौशलसम्बन्धी सैद्धान्तिक कक्षासँगै ताजा जनावरको तन्तु तथा शल्यकौशल अभ्यास उपकरणमा आधारित व्यावहारिक प्रशिक्षण सञ्चालन गरिएको थियो। सहभागीहरूले सिउने, गाँठो बाँध्ने, तन्तु सम्हाल्ने, घाउ बन्द गर्ने लगायतका आधारभूत शल्यक्रियात्मक सीपहरू सिक्ने अवसर प्राप्त गरेका थिए। तालिममा डा. रोसन शाह कलवार, डा. वेदप्रकाश साह, डा. धर्मेन्द्र महतो, डा. कमलेश राज, डा. विजय साह, डा. रमेश श्रेष्ठ, दीपक पौडेल, डा. अञ्जनीकुमार यादव, डा. मेहुल राजेश जैसानी, आकाश गिरी तथा उलव बुढाथोकी लगायतका विशेषज्ञ चिकित्सक, अनुभवी शल्यकक्ष नर्सिङकर्मी तथा प्राविधिक टोलीले प्रशिक्षण प्रदान गरेका थिए। सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यावहारिक र सिकाइमुखी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता सीपमूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनुपर्ने आवश्यकता पनि औँल्याएका थिए। कार्यक्रमको सफलताले नेपाल चिकित्सक संघ धरान शाखा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सहयोगी संस्थाहरूको चिकित्सा शिक्षा, सीप विकास र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको समापनमा प्रशिक्षक, सहभागी, प्रायोजक संस्था तथा सहयोगी निकायहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

तपाईको प्रतिक्रिया