राष्ट्रिय माविको ‘उत्सव २०८३’ मा विद्यार्थी प्रतिभाको प्रस्तुति

इटहरी, असार ५ । इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरूको प्रतिभा, सीप र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘उत्सव २०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरे । विद्यालयका विज्ञान, व्यवस्थापन, शिक्षा, होटल म्यानेजमेन्ट तथा तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ् कार्यक्रमका विद्यार्थीहरूसहित कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न विषयगत तथा व्यवहारिक प्रतिभा प्रदर्शन गरे । प्रदर्शनीमा शैक्षिक, वैज्ञानिक, साहित्यिक, प्राविधिक तथा उद्यमशीलतासँग सम्बन्धित आकर्षक सामग्रीहरू प्रस्तुत गरियो । ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनाअन्तर्गत छनोट भएका १० समूहका विद्यार्थीहरूले आयमूलक तथा सीपमूलक स्टल सञ्चालन गरे । इन्स्योर÷हेल्भेटास परियोजनाको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिकामार्फत प्रत्येक समूहलाई पाँच–पाँच हजार रुपैयाँ उपलब्ध गराइएको थियो। तीमध्ये लस्सी बिक्री गर्ने समूहले पहिलो दिनमै १४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिए ।‘विद्यार्थीहरूलाई अध्ययनसँगै सीप, श्रम र उद्यमशीलताको महत्व बुझाउँदै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ प्रधानाध्यापक बस्नेतले भने, ‘प्रतिभा पलायनको चुनौती बढिरहेका बेला यस्ता कार्यक्रमले विद्यार्थीलाई स्वदेशमै अवसर खोज्न उत्प्रेरित गर्छ ।’ कुल २८ वटा स्टलमध्ये १८ वटा स्टलमा बाल क्लब, स्काउट, ग्रीन क्लब, जुनियर रेडक्रस सर्कल, होटल म्यानेजमेन्ट, नेपाली भाषा तथा साहित्य, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन लगायतका विषयगत प्रदर्शनी समेटिएका थिए । सो क्रममा राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत कमाउँदै पढ्दै परियोजनामा तयार गरिएका कपी पनि विक्रीका लागि राखिएको थियो । त्यसबाट पनि विद्यार्थीले मनग्ये आम्दानी गरेको कार्यक्रम संयोजक युवराज काफ्लेले बताए ।


सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उत्कृष्ट माध्यमका रूपमा यस्ता प्रदर्शनीलाई लिन सकिने बताए । उनका अनुसार यस्तो खाले प्रदर्शनी विद्यालयले अघिल्लो पटकदेखि गरेको हो । तर, यसपटक पनि धेरै मिहिनेतका साथ गरिएको जानकारी दिइयो । प्रदर्शनी अवलोकनका लागि विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा तथा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । शिक्षक मुक्ति दाहालका अनुसार आगामी दिनहरूमा समेत प्रदर्शनीप्रति थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर हेमकर्ण पौडेलले राष्ट्रिय माध्यमिक विद्यालयले सामुदायिक विद्यालयहरूको क्षेत्रमा उदाहरणीय अभ्यास गर्दै गुणस्तरीय तथा व्यवहारिक शिक्षाको नमूना प्रस्तुत गरेको बताए । उनले राष्ट्रिय माध्यमिक विद्यालयको होटल म्यानेजमेन्टका लागि ल्याब सञ्चालन गर्न २५ लाख रुपैयाँ उपलब्ध गराउने र एक जना अनुदानमा शिक्षक उपलब्ध गराउने पनि घोषणा गरे । कार्यक्रम वडा नं. १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कैलाश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्काउट दिवसमा २६ जनाद्वारा रक्तदान
यसैबीच, स्काउट दिवसको अवसरमा विद्यालयको स्काउट दलले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोशी प्रदेश स्काउटका प्रमुख हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २६ जनाले रक्तदान गरेका स्काउट शिक्षिका बन्दना दाहालले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले सामाजिक सेवाप्रति विद्यार्थीहरूलाई प्रेरित गरेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया