धरान, । सरकारले निजी स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेपछि पूर्वी नेपालको प्रमुख उपचार केन्द्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ । बिरामीको चाप उच्च भएसँगै प्रतिष्ठान परिसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव देखिएको छ । यही संकटलाई सम्बोधन गर्न धरान जेसिस ले ‘जेसिस सप्ताह २०२६’ अन्तर्गत विशेष रक्तदान महाअभियान सञ्चालन गरेको छ । पछिल्लो समय निजी अस्पताल तथा मेडिकल कलेजहरूमा उपलब्ध हुँदै आएको स्वास्थ्य बीमा सुविधा रोकिएपछि विपन्न तथा मध्यमवर्गीय नागरिकहरू सरकारी सेवा प्राप्त गर्न बीपी प्रतिष्ठानमा उपचार गर्न बाध्य भएका छन् । निजी स्वास्थ्य संस्थामा उपचार खर्च धान्न कठिन भएपछि धेरै बिरामीहरू लामो समयसम्म लाइनमा बसेर भए पनि सरकारी स्वास्थ्य सेवा लिन बाध्य भएका हुन् । बिरामीको संख्या बढेसँगै प्रतिष्ठानमा चुनौतीका रूपमा रगत अभाव देखिएको छ । विशेषगरी आकस्मिक शल्यक्रिया, दुर्घटनाका घाइते, प्रसूति सेवा तथा क्यान्सर उपचारका बिरामीहरूका लागि आवश्यक रगतको माग तीव्र रूपमा बढेको छ । रक्त सञ्चार केन्द्रका अनुसार दैनिक ५० देखि ८० पिन्टसम्म रगतको माग रहेको छ । तर नियमित रक्तदान कार्यक्रमहरू प्रभावित हुँदा आवश्यक परिमाणमा रगत संकलन हुन सकेको छैन ।

रक्त सञ्चार केन्द्रले हाल रगतको मौज्दात अत्यन्त न्यून स्तरमा पुगेको जनाएको छ । केन्द्रका अनुसार केही अवस्थामा बिरामीका आफन्तहरूले आवश्यक रगत खोज्न कठिनाइ भोग्नुपरेको छ भने आकस्मिक उपचारमा समेत चुनौती थपिएको छ । यसैबीच, सामाजिक उत्तरदायित्व तथा आपत्कालीन सेवामा सक्रिय रहँदै आएको धरान जेसिसले रक्त सञ्चार केन्द्र सुनसरीको प्राविधिक सहयोगमा ‘जेसिस सप्ताह २०२६’ को पहिलो प्रमुख कार्यक्रमका रूपमा विशेष रक्तदान अभियान सञ्चालन गरेको हो । जेसिस सप्ताहको उदाटनसँगै स्वर्गीय सुवास चन्द्र सिंहको स्मृतिमा तथा विश्व रक्तदाता दिवसको अवसर पारेर धरान(३ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित रक्तदान कार्यक्रममा युवाहरू, जेसिस सदस्यहरू, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा धरान जेसिसका अध्यक्ष सागर प्रसाईले बीपी प्रतिष्ठानमा उपचाररत आर्थिक रूपमा कमजोर बिरामीहरूले रगत अभावका कारण थप समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले सामाजिक सेवामा युवाहरूको सक्रिय सहभागिताले यस्ता मानवीय संकट समाधानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सँगै जेसिजले साप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको बताउनुभयो । रक्त सञ्चार केन्द्र सुनसरीका इन्चार्ज सुरेन्द्र साहले पछिल्लो समय स्वास्थ्य बीमा नीतिमा आएको परिवर्तन, बिरामीको चापमा भएको वृद्धि तथा वर्षायामसँगै देखिएका विभिन्न स्वास्थ्य समस्याका कारण रगतको माग अस्वाभाविक रूपमा बढेको जानकारी दिनुभयो । उहाँले धरान जेसिसले सञ्चालन गरेको रक्तदान कार्यक्रम समयसापेक्ष भएको उल्लेख गर्दै अन्य संघ संस्थालाई पनि रक्तदानका लागि पहल गरिएको बताउनुभयो । वर्तमान अवस्थामा रगतको माग पूर्ति गर्न सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, व्यवसायिक संगठन तथा युवाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको केन्द्रको भनाई छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन रगतको पर्याप्त मौज्दात कायम राख्न सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको भन्दै केन्द्रले रक्तदान गर्न आवहान समेत गरेको छ । बीपी प्रतिष्ठानमा बिरामीको बढ्दो चाप र रगतको अभावले स्वास्थ्य सेवामा थप चुनौती सिर्जना गरिरहेको अवस्थामा धरान जेसिसको रक्तदान अभियानले तत्काल राहत पु¥याउने केन्द्रको भनाई छ ।
