धरान । साना तथा मझौला व्यवसायीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास र प्रभावकारी सञ्चार सीप अभिवृद्धि गर्ने उद्देश्यले धरानमा आयोजित व्यवसायिक तथा उद्घोषण तालिमको आयोजना गरिएको छ । नेपाल साना उद्योग व्यवसायी संघको आयोजनामा तथा सुनसरी जिल्ला कार्यसमितिको सहकार्यमा संघको केन्द्रीय कार्यालय धरानमा सञ्चालन गरिएको तालिममा स्थानीय उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा व्यवसाय सञ्चालनमा आवश्यक पर्ने नेतृत्व विकास, सार्वजनिक प्रस्तुतीकरण, उद्घोषण कला, ग्राहकसँगको संवाद तथा व्यावसायिक शिष्टाचारसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा सहभागी महिला उद्यमी दिक्षा घिमिरेले कार्यक्रमले आफ्नो आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले तालिमअघि सार्वजनिक रूपमा बोल्न डर लाग्ने भए पनि अहिले ग्राहक तथा विभिन्न संघ(संस्थासँग निर्धक्क भएर आफ्ना विचार राख्न सक्ने आत्मविश्वास विकास भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक विष्णु बरालले साना व्यवसायीहरूको सफलतामा प्रभावकारी सञ्चार र आत्मविश्वासको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले व्यवसायको प्रवद्र्धन, बजार विस्तार र ग्राहकसँगको सम्बन्ध मजबुत बनाउन प्रस्तुतीकरण तथा उदोषण कला आवश्यक रहेको उल्लेख गर्दै यस्ता सीपले उद्यमीलाई स्टेजदेखि बजारसम्म आत्मविश्वासका साथ प्रस्तुत हुन सक्षम बनाउने धारणा राख्नुभयो । तालिमको प्रभाविकारिताका बारेमा अन्य सहभागीहरुले समेत खुलेर अभिव्यक्ति दिएका थिए । सहभागी केशव अधिकारीले तालिमले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित र आधुनिक बनाउने दृष्टिकोण प्रदान गरेको मात्र हैन खुलेर बोल्न सहज बनाएको बताउनुभयो । वि.सं. २०४७ सालदेखि साना उद्योगी तथा व्यवसायीहरूको हकहित र क्षमता विकासका क्षेत्रमा क्रियाशील नेपाल साना उद्योग व्यवसायी संघले आयोजना गरेको यो कार्यक्रमले व्यवसायी तथा उद्यमीहरूको वृत्ति विकास, आत्मविश्वास अभिवृद्धि तथा साना व्यवसायको दिगो विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास लिइएको छ । संघका पदाधिकारीहरूले आगामी दिनमा पनि उद्यमीहरूको आवश्यकता अनुसार यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने
जानकारी दिएका छन् ।
