इटहरी । कोशी प्रदेश अन्तर्गत विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १८ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार वैसाख ९ गते दुर्घटनामा परी ३१ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यद्यपि उक्त अवधिमा कुनै मानवीय क्षति भने भएको छैन । कार्यालयले दिएको विवरण अनुसार सोही दिन मोरङ, झापा, सुनसरी, उदयपुर र ओखलढुंगामा दुर्घटना भएका हुन्। अधिकांश दुर्घटना तीव्र गति, ओभरटेक, चालकको लापरवाही तथा सडकमा ध्यान नदिँदा भएको जनाइएको छ । केही घटनामा चालकले मादक पदार्थ सेवन गरेको तथा सवारी चालक अनुमति पत्र नलिएको समेत खुलेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । यस्तै मोरङको विराटनगर–६ मा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा भारतीय नागरिक आदित्य झा गम्भीर घाइते भएका छन् ।

झापा, मोरङ र सुनसरीमा भएका विभिन्न दुर्घटनामा मोटरसाइकल, स्कुटर, ट्रक, ट्याक्टर र सिटी सफारी संलग्न रहेका थिए । कतिपय दुर्घटनामा पैदलयात्रीसमेत घाइते भएका छन् भने केही सवारी साधन दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । यस अवधिमा ट्राफिक प्रहरीले ४१२ वटा सवारी साधन कारबाही गरी ३ लाख ९१ हजार ५ सय १ रुपैयाँ राजश्व संकलन गरेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने २५ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी ५० वटा चालक प्रशिक्षण कार्यक्रममार्फत १ हजार ३ सय ९४ जनालाई प्रशिक्षण दिइएको तथा १५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
