भूमि अधिकारको माग गर्दै धरानमा सुकुम्वासीहरूको प्रदर्शन घोषणा

धरान । अव्यवस्थित, भूमिहीन तथा सुकुम्वासी संघर्ष समिति धरानले आगामी २०८३ जेठ ९ गते शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ । समितिले धरानका सम्पूर्ण अव्यवस्थित, भूमिहीन तथा सुकुम्वासी नागरिकलाई एकताबद्ध गर्दै आन्दोलनमा सहभागी गराउने उद्देश्यले प्रदर्शन आयोजना गर्न लागेको जनाएको छ। प्रदर्शनका लागि सोही दिन दिउँसो १ बजे धरानको छाताचौकमा भेला हुने कार्यक्रम तय गरिएको छ।
संघर्ष समितिका अनुसार भूमि अधिकार, बसोबासको सुनिश्चितता तथा सुकुम्वासी समुदायका समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो।
समितिको संयोजकमा चन्द्र भुजेल, उपसंयोजकमा राजेश राई तथा सचिवमा टिकाराम विक रहेका छन् । १३ सदस्यीय संघर्ष समितिले धरानका विभिन्न क्षेत्रमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको हकअधिकारका विषयमा आवाज उठाउँदै आएको जनाएको छ। समितिले प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सबै सहभागीलाई अनुशासित रूपमा उपस्थित हुन आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया