विद्यार्थीलाई सामग्री सहयोग तथा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विभिन्न संघ–संस्थाले शैक्षिक तथा प्रयोगात्मक सामग्री सहयोग गरेका छन् ।
शुक्रबार आयोजित विशेष कार्यक्रममा बैंक तथा सामाजिक संस्थाहरूले विद्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । साथै, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरियो । कुमारी बैंक लिमिटेडले विद्यालयको सरसफाइ व्यवस्थापनका लागि ६० थान डस्टबिन प्रदान गरियो । नबिल बैंकले भेन्टिङ मेसिन सहयोग गरेको छ । त्यसैगरी लायन्स क्लब अफ इटहरी मनकामना तथा लायन्स क्लब अफ न्यू भिजनले प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीका प्रयोगात्मक कक्षाका लागि आवश्यक तीन वटा लेभल मेसिन विद्यालयलाई प्रदान गरेको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । सोही अवसरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो। विद्यालयबाट ४ जिपिए प्राप्त गर्ने अवगेल याख्खा र अलिसा दाहाललाई नगदसहित सम्मान गरिएको हो । साथै अन्य उत्कृष्ट विद्यार्थीलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।


विद्यालयका सहायक प्रधानाध्यपाक लक्ष्मी सुवेदीका अनुसार यस वर्ष विद्यालयले ८८.२ प्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयबाट ३.६० देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या २५ रहेको छ भने ३.२० देखि ३.६० जिपिए ल्याउने ४७ जना रहेका छन्। त्यस्तै २.८० देखि ३.२० जिपिए ल्याउने ४४ जना तथा २.४० देखि २.८० जिपिए प्राप्त गर्ने ९ जना विद्यार्थी रहेका छन्। विद्यालयले आगामी शैक्षिक सत्रदेखि ३.६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने घोषणा समेत गरेको छ। विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान संकायतर्फ कम्प्युटर विज्ञान र जीव विज्ञान अध्यापन हुँदै आएको छ भने व्यवस्थापन संकायमा नेपाली तथा अङ्ग्रेजी दुवै माध्यमबाट कम्प्युटर विज्ञान पढाइ हुने गरेको छ। साथै शिक्षा संकायसँगै यस वर्षदेखि ब्युटिसियन एण्ड हेयर ड्रेसिङ कोर्स पनि सञ्चालन गरिने शिक्षक युवराज काफ्लेले बताए । प्राविधिक धारतर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङको अध्ययनसमेत सञ्चालनमा रहेको विद्यालयले जनाएको छ। प्रधानाध्यापक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा यसै वर्ष नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका ४५१ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा तीन जना नयाँ शिक्षक तथा एक जना कर्मचारीलाई स्वागतसमेत गरिएको थियो। विद्यालयले आयोजना गरेको उद्घोषण तालिममा सहजीकरण गर्ने पत्रकार चन्दा खड्का र उषाकिरण घिमिरे लाई पनि सम्मान गरिएको थियो। इटहरी उपमहानगरपालिका नगर शिक्षा समितिका सदस्य तथा विद्यालयका निवर्तमान सञ्चालक समितिका अध्यक्ष कोविदजंग कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले २०७९ फागुन ९ गतेदेखि २०८२ चैत मसान्तसम्म विद्यालयको विकास, सञ्चालन तथा गुणस्तर अभिवृद्धिका लागि ५१ बुँदे महत्वपूर्ण काम सम्पन्न गरिएको जानकारी दिएका थिए।

तपाईको प्रतिक्रिया