धरान । पाँचथरमा जन्मनु भएपनि उच्च शिक्षाका लागि ३० वर्ष अगाडि धरान बस्नु भएका साहित्यकार सुरेन उप्रेतीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । धरान बसाइँका क्रममा उहाँले २०५३ सालमा ‘आजका स्वरहरू’ कविता संग्रह, २०५८ सालमा ‘अजम्बरी माया’ बाल कथा संग्रह प्रकाशित गरी साहित्यिक यात्रा प्रारम्भ गर्नुभएको थियो ।

आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका ११ वटा वाचापत्रसहित अभियानमा जुट्नु भएका उप्रेतीले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान गर्दै आउनुभएको छ । वि.सं. २०५९ सालमा क्यानाडामा स्थायी बसोबास गर्दै आउनु भएका उहाँले २०६० सालदेखि ७ वर्षसम्म क्यानाडास्थित नेपाली विद्यालयमा नेपाली भाषा शिक्षकका रूपमा गैरआवासीय नेपालीका छोराछोरीलाई अध्यापन गराउने कार्य गर्नुभयो । उहाँ लगायत अन्य नेपाली भाषीको पहलमा २०६१ सालमा क्यानाडामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको थियो । वि.सं. २०६३ सालमा उहाँ उक्त संस्थाको महासचिवमा निर्वाचित हुनु भएको थियो । वि.सं. २०६३ पश्चात उहाँ अध्यक्षको जिम्मेवारी ६ वर्षसम्म सम्हाल्नुभयो । वि.सं. २०७२ देखि २०७४ सालसम्म उप्रेती एनआरएन क्यानाडाको उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँले त्यसबेला नेपाली नयाँ वर्षमा नेपाली क्यालेन्डर प्रकाशित गरी क्यानाडामा बस्ने नेपालीका घरघरमा पु¥याउने, नेपालीका बालबालिकालाई कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम बनाई प्रकाशन गर्ने, एनआरएनको साहित्य विभागमा बसेर साहित्य सम्मेलन गर्ने काम समेत गर्नुभएको थियो ।
