घण्टाघरबाट हेर्दा

गनगने चुपचाप नबस्ने रे
खप्रओपछि सबैभन्दा बढी झुट बोल्ने, हावा गफ दिने लाउरेसका विशेष सभापति गनगने थापा अब चुप नबस्ने रे । प्रधानमन्त्री बालेन साहले तिनका झोले उत्पादन गर्ने विद्यार्थी संगठन, मजदुर संगठन, शिक्षक संगठन, कर्मचारी संगठन, प्राध्यापक संगठनहरू सबै क्लिनस्विप गरेदेखि गनगनेको दिमागले काम गर्न छाड्या छ । गफमा आकाश पाताल जोड्ने कला भएका गनगनेले चिच्याए पनि चुप बसे पनि प्रधानमन्त्रीलाई बाल मतलब । आजकल तिनको बोलीको टुंगै छैन । कहिले के फलाक्छन् त कहिले के फलाक्छन् । झन् अस्तिका दिन प्रधानन्यायाधीश नियुक्तिपछि त तिनको दिमाग पूरै ब्लाक आउट भा’छ । हिजो लाउरेसको सरकार हुँदा सेटिङमा नियुक्ति गरेर गोरस धन्दा चलाउँदै आएका थिए । बालेनले धन्दै चौपट गरिदिए । विचराको बेहाल छ । सडकमा उत्रिऊँ न त भने उल्टै जनताले लखेट्ने, संसद्मा चिच्याउन त भने सर्लाहीबाट अमरेशले नांगेझार पारेर लखेटे । अग्रजहरूको अपमान गरेर पदबाट हटाएर हुँदोरहेनछ । विचारलाई आपतै प¥या छ ।
बल्ल प¥यो माकुरी जालैमा
पदमा छउञ्जेल पनि राज्यको ढुकुटी लुट्ने र पदबाट हटेपछि पनि राज्यको ढुकुटीमा पौडी खेल्ने पूर्वहरूमाझ यतिबेला रुवाबासी चल्या छ । एकपटक राष्ट्रपति भएकै भरमा, प्रधानमन्त्री भएकै भरमा, उपप्रधानमन्त्री भएकै भरमा, मन्त्री भएकै भरमा दुई वटा सरकारी गाडीमाथि कब्जा जमाएका, सरकारी निवासमा ढलीमली गरेका, सुरक्षाका लागि १४ जना सुरक्षाकर्मी लिएर ड्राइभर, राशनपानी, भत्ता, इन्धन हसुर्दै आएकाहरूका सबै बालेनले खोसेपछि अब हरामको खान नपाइने भएपछि विचाराहरू साह्रै पीडामा छन् । अति गर्नु अतिचार नगर्नु भन्ने कुराको अलिकति त हेक्का राख्नुपथ्र्यो नि । पाए भन्दैमा लतलत घिच्नु त भएन नि । पदमा छउञ्जेल राज्यले दिएकै हो, पदबाट हटेपछि पनि त्यसरी डकार्नु त मनासिव हुँदै होइन । अब यिनीहरूले हालसम्म लिएको सम्पूर्ण सुविधा खर्च व्याजसहित असुली गर्नुपर्छ । बालेनले त्योचाहिँ गर्लान् कि नर्गलान् ? हेर्दै जाऔँ, आगे आगे होता है क्या ?
झालेमालेमा खैलाबैला

झालेमाले पार्टीमा यतिबेला खैलाबैला मच्चिएको छ । आफ्ना झोले झ्याम्टे उत्पादन गर्ने कारखाना सुकुम्बासी बस्ती बालेन सरकारले डोजर हानेर निमिट्यान्न बनाइदियो । विरोध गर्न सडकमा उत्रिँदा प्रहरीले स्थायी नसबन्दी हुने गरी भाटा हानेर सोझ्याइदियो । प्रहरीले भाटा पनि यसपटक त साह्रै स्वाद हान्यो । सुटेडबुटेड भएर झोलेहरू प्रहरीको प्रतिकार गर्न गाथे, लास्टमा शरीरभरि सुम्ला लिएर रुँदै फर्किए । अब त हुँदा हुँदा सरकारले ललितपुरको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा समेत धावा बोल्या छ । सरकारी जमिन हडपेर तुल्सीलाल अमात्यको नाममा आलिसान भवन बनाएर पार्टी कार्यालय सञ्चालन गर्दै आएका रै’छन् । भूमि व्यवस्था मन्त्रीले भवन खाली गर्न पत्राचारै गरिसकेका छन् । हैन हौ, आपत आउन थालेपछि एकपछि अर्को गर्दै आइरहन्छ भन्थे । हो कि क्या हो ? बल्खुमा भएको पार्टी कार्यालय बाढीले सनित्तै पा¥यो । अब च्यासलमा भएको कार्यालयमा सरकारको नजर परिसक्यो ।
त्रिपाठी पनि डल्लो पर्ने भए
अधिवक्ता दिनेश त्रिपाठी पनि डल्ले पर्ने भएछन् । एउटा अधिवक्ताको अर्बौंको सम्पत्ति भेटिएपछि सम्पत्ति शुद्धीकरण र अख्तियारले छानबिन थालेपछि त्रिपाठी यतिबेला रन्थनिएका छन् । सम्पत्तिको स्रोत नखुल्ने भएपछि अस्तिका दिन तिनले भटाभट ओकले, मेरो घर, गाडी, पैसा सबै काँग्रेस, एमाले र माओवादीले दिएको हो । योचाहिँ कुरा त्रिपाठीले नढाँटी भन्या हुन् । काँग्रेस, एमाले र माओवादीको खेतला भएर काम गरेपछि घर, गाडी, पैसा नदिने कुरा पनि भएन । तिनले अरूलाई त मान्छे नै नगन्ने । गन्नु पनि कसरी, अरूबाट घर, गाडी, पैसा झर्दैनथियो । जताबाट झर्छ त्यसको तलुवा त चाट्नै प¥यो । जस्तोसुकै अपराध गरे पनि, बलात्कारी भए पनि, भ्रष्ट भए पनि, ज्यानमारा भए पनि, व्यभिचारी भए पनि काँग्रेस, एमाले र माओवादीलाई जोगाउन यिनले सानो भूमिका खेलेका छैनन् । आफूहरूप्रतिको त्रिपाठीको इमान्दारिता देखेर ३५ वर्षदेखि मिलीजुली लुट्दै आएकाहरूले यिनको पनि त व्यवस्था गर्नुप¥यो । त्यसै करोडौंको घर, जग्गा, जमिन, गाडी, पैसा दिएका हुन् र ? ताली त दुई हातले मात्र बज्छ । जे होस्, त्रिपाठीको सम्पत्तिको स्रोतचाहिँ बेलैमा खुलेको छ ।
बाफ रे बाफ के साह«ो हसुरेको
मान्छे हेर्दा खिरिलो खिरिलो भए पनि ज्ञानेन्द्रबहादुर कार्कीको पेटचाहिँ हाँडीघोप्टे नै रै’छ । आफ्नो जिल्ला र गाउँमा कसैले नपत्याएपछि टुरिस्ट उम्मेदवार भएर सुनसरी झरेका थिए । यस पटक सुनसरीका जनताले पनि पिँधमा पुल्ठो बालेर लखेटिदिए । लाउरेसका श्याबहादुर, भ्रष्टाचारकी कुलदेवी जुआर राणाका अन्धभक्त काजीले मालचाहिँ टन्नै हसुुरेका रै’छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ३ अर्ब ६२ करोड ५ लाख भ्याइदिएछन् । आफ्ना मालिकको आशीर्वादले कहिले अर्थमन्त्री, कहिले सञ्चारमन्त्री त कहिले मन्त्री पड्काएका थिए । सेटिङ मिलाएर माल खान खप्पिस काजी हिजोआज मोती हराएको सर्प जस्तै भएका छन् । हुने भए नि पार्टीभित्र आफ्ना मालिक–मालिक्नीको हालीमुहाली सिद्धिएको छ । अब फेरि पहिलाको जस्तै स्वर्णिम युग नआउने नै भयो । विचरलाई सानो टेन्सन छैन । विमानस्थल घोटाला प्रकरणमा त्यत्रो विधि भ्याउनेले अन्त कति बजाएका होलान् ? हैट् !
सुख्खाराम भएछन्
विगत ३५ वर्षदेखि अक्टोपसले झैँ चारैतिरबाट माल सोहोर्दै आएका पुराना दलहरू यसपटक अदालत, विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, संवैधानिक नियुक्तिबाट सुख्खाराम पल्टिएछन् । मोलमोलाइ गरेर नियुक्ति लिने न्यायाधीश लगायतले सपथ लिएलगत्तै सानेपा, पेरिसडाँडा, ललितपुरको च्यासलमा पुगेर माल दिएर आशीर्वाद लिन्थे । यसपालिदेखि त्यस्तो परम्परा पूर्ण रूपमा तोडिएको छ । हालै नियुक्त भएका न्यायाधीश, प्रधानन्यायाधीश, अन्य संवैधानिक निकायका प्रमुखहरू कोही पनि सानेपा, पेरिसडाँडा, च्यासलमा भेट्न गएनन् । सरकारले गरेको निर्णयको किन ती अड्डाका धुन्धुकारीहरूले न्वारानदेखिको बल लगाएर विरोध गर्या रै’छन् भन्ने कुराको पोल त बल्ल खुल्दै छ । आफूहरूको खेतिपाती नै स्वाहा भएपछि तिनले विरोध गर्या रै’छन् । अब पुराना दलका मुखियाहरूले तत भन्ने, मम भन्ने टुप्पी समाउने । सम्झने, पानी छक्कने । हुन त विचाराहरूलाई गाह्रै छ, लागेको बानी एक्कासी छुट्दा हनहनी ज्वरो आउनु स्वाभाविक हो ।
चुइँक्क बोल्दैनन् त हौ ?
एकपटक शिर झुकेपछि झुक्यो झुक्यो । शिर उठ्न गाह्रो छ । अब हेरम् न, मुखले बोल्न नभ्याउँदा पिँधले समेत बोलुम्ला झैँ गर्ने लाउरेस, झालेमाले, बेश्याको नाम परिवर्तन भएझैँ परिवर्तन भएको पूर्व माओवादी आच्या नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको बालेन सरकार आएपछि सातै गएछ कि क्या हो ? न खप्रओ चुइँ गर्छन्, न गनगने चुईँ गर्छन्, न मने प्रचण्डाउ चुइँ गर्छन् । यिनका चुइँकिने विषय नै बाँकी रहेनछ कि क्या हो ? जनताले भकुन्ड्याएपछि बारीको कान्लामा पुगेका यिनीहरू पाँच वर्षसम्म त उठ्नै सक्दैनन्, पाँच वर्षपछि जनताले यिनलाई बिर्सिसकेका हुन्छन् । संसदमा गएर चुइँकिऊँ, प्रवेश निषेध छ, सडकमा चुइँकिऊँ एक्लै परिने । क्या फसाद ! यतिविध्न हरिविजोग होला भन्ने त यिनीहरूले सोचेका पनि थिएनन् होला । विचाराहरू धुमधुम्ती कोठामा डल्लो परेर थन्किएका छन् । त्यसै कहिले सासूको पालो, कहिले बुहारीको पालो भन्या होइन रै’छ ।
अन्त्यमा
नेपाली राजनीतिमा आयाराम गयारामको उपाधि पाएका पूर्व आतंकबारी बाउराउ यमी भट्टराईले दल परित्याग गरेछन् । कहिले मसाल, कहिले जनमोर्चा, कहिले माओवादी, कहिले नयाँ शक्ति, कहिले जनता समाजवादी हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टीमा पुगेका थिए । दल बदलुमा विद्यावारिधि गरेका बाउराम अब स्वतन्त्र बस्ने रे । हैन हौ, ती स्वतन्त्र बसे पनि, आबद्ध वा सक्रिय भए पनि नेपाली जनतालाई लुतो न कन्याइ । कता कता गाइगुई सुनिँदैछ, अब रास्वपामा प्रवेश गर्छन् रे । रास्वपाले बाल मतलबै देला जस्तो छैन । जता गए पनि छिद्र बनाउन व्यवहार भा’का भाइरसलाई छिराएर कलह जन्माउन चाहिन्छ जस्तो छैन । एकाताका रास्वपाले आफूलाई राष्ट्रपति बनाउँदैछ भनेर सानो डंका पिटेनन् । तर रास्वपाले ‘कौन पुछे खेसरीके दाल’ बनाएर छोड्यो । अन्ततः विचराको विद्यावारिधि श्रीमतीको फरियामै सिद्धिने भयो ।

तपाईको प्रतिक्रिया