धरान ४ र १४ जोड्ने पुल जनश्रमदानबाट निर्माण हुदै

धरान । उपमहानगरपालिकाभित्रै रहेर पनि वर्षौंदेखि धरानसँगै टाढा भएको अनुभूति गर्दै आएका वडा नम्बर ४ का बासिन्दाका लागि अहिले
परिवर्तनको ढोका खुल्न थालेको छ । सेउती खोलामाथि पुल निर्माण सुरु भएसँगै जोखिम, अभाव र पीडाले भरिएको विगत अब सहज बन्ने
चरणमा पुगेको छ । धरान ४ र १४ बीचको दूरी केवल भौगोलिक मात्र थिएन, यो त जीवनशैलीकै विभाजनजस्तै बनेको थियो । जुवाने दोभान क्षेत्रमा पुल नहुँदा स्थानीयहरू दैनिक आवतजावतका लागि खोलामै निर्भर हुनुपर्ने बाध्यता थियो । वर्षायाममा खोला उर्लँदा अवस्था झन् विकराल बन्थ्यो–विद्यार्थीहरू विद्यालय जान नपाउने, बिरामी अस्पताल पुग्न नसक्ने र सर्वसाधारण ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने अवस्था वर्षौंदेखि दोहोरिँदै आएको थियो ।
स्थानीयका अनुसार, खोलामा बगेर बालबालिकाले ज्यान गुमाएका दर्दनाक घटनाहरू अझै पनि समुदायको सामूहिक स्मृतिमा ताजा छन ्। ती पीडादायी क्षणहरूले नै अहिले परिवर्तनको बलियो आधार तयार गरेका छन ्। यसै सन्दर्भमा, धरान–४ का पूर्व वडाध्यक्ष धनबहादुर राईको नेतृत्वमा केही महिनाअघि पुल निर्माण कार्य सुरु गरिएको हो ।

राईका अनुसार, यो पुल केवल संरचना मात्र होइन, यहाँका बासिन्दाको वर्षौंदेखिको सपना र आवश्यकताको प्रतिफल हो । खोलाका कारण वर्षौंदेखि धरान ४ का बासिन्दाले भोगेको दुःख अब अन्त्यतिर पुगेको छ । उहाँले पुल निर्माणको सुरुवातबारे जानकारी दिँदै उहाँले शुरुमा धरान पमहानगरपालिकाका पूर्व मेयर स्व.तारा सुब्बाले शुरुवात गर्नुभएको यो पुल उहाँको निधनपछि निर्माण हुन नसकेको यथार्थ बताउनुभयो । केन्द्रीय सरकार प्रदेश सरकारले यस पुलको अनुगमन गरेपनि बजेट छुट्याउन नसकेकोले स्थानीयकै पहलमा केही महिना अघि काम सुरु गरिएको बताउदै सुरुमा स्रोत अभाव रहे पनि देश विदेशबाट रकम संकलनपछि विस्तारै सहयोग जुट्दै गएको गएपछि काम शुरु भएको बताउनुभयो । उहाँले पुल निर्माणका लागि उल्लेख्य बजेट आवश्यक पर्ने भए पनि रकम जुटाउन सहज बन्दै गएको बताउनुभयो । स्व तारा सुब्बाको निधनपछि नेकपा एमालेले दिएको १५ लाख रुपैयाबाट काम शुरु
गरेसँगै देश विदेशबाट रकम पठाउने काम भएको जानकारी दिनुभयो । उहाँले यो पुल निर्माण भइसक्दा ५५–६० लाख सम्ममा सम्पन्न हुने जानकारी दिनुभयो । निर्माण सम्पन्न भएपछि यो पुलबाट वडा नम्बर ४, ५ र १४ का हजारौं बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । विशेषगरी विकट बस्तीहरू पहिलोपटक सहज रूपमा मुख्य बजारसँग जोडिनेछन् । राईका अनुसार, पुल बनेपछि यहाँका किसानहरूले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सजिलो हुनेछ । बिरामीलाई अस्पताल लैजान, बालबालिकालाई विद्यालय पठाउन र दैनिक आवतजावत गर्न धेरै सहज हुनेछ । पुल निर्माण भएपछि वर्षायाममा खोलाले लिने मानवीय क्षति अब अन्त्य हुने अपेक्षा गरिएको छ । विगतमा भएका दुःखद घटनाहरूलाई स्मरण गर्दै राईले अब त्यस्तो अवस्था दोहोरिनु हुँदैन भन्ने सोचले नै सबै जना एकजुट भएर पुल निर्माण शुरु गरिएको बताउनुभयो । स्थानीयको श्रमदान, सहयोग र एकताले यो परियोजनालाई केवल पूर्वाधार निर्माण मात्र नभई सामाजिक अभियानका रूपमा स्थापित गरेको छ । सरकारको प्रतिक्षा नगरी समुदाय आफैं उठेर विकास निर्माणमा जुटेको यो उदाहरण प्रेरणादायी बनेको छ । स्थानीयबासी पुल निर्माणपछि उत्साहित बनेका छन् । अब सेउती खोलाले धरानबासीबीच विभाजन होइन, जोड्ने काम गर्ने र वर्षौंदेखि धरानसँगै टाढा रहेको वडा नम्बर ४ अबचाहिँ धरान उपमहानगरपालिका भएको महसुस गर्न हुने बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया