मन्त्री पोखरेलद्वारा बीपी प्रतिष्ठानको अनौपचारिक भ्रमण

धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले अनौपचारिक भ्रमण गर्दै संस्थाले भोगिरहेका नीतिगत तथा आर्थिक समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । गत बैशाख ८ गते मंगलबार सम्पन्न भ्रमणका क्रममा मन्त्री पोखरेलसँगै श्रृजना श्रेष्ठ, शिक्षा सचिव चूडामणी पौडेल तथा स्थानीय प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। टोलीलाई प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ लगायत पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । स्वागतपछि आयोजित संक्षिप्त छलफलमा प्रतिष्ठानका पदाधिकारीहरूले चिकित्सा शिक्षा आयोगसम्बन्धी कानुनी व्यवस्थाका कारण विद्यार्थी संख्यामा आएको कटौती, त्यसबाट सिर्जित आर्थिक दबाब तथा सरकारले भुक्तानी गर्नुपर्ने बीमा रकम नआउँदा उत्पन्न भएको गम्भीर आर्थिक संकटबारे मन्त्रीसमक्ष विस्तृत जानकारी गराएका थिए । साथै, शैक्षिक नीति, अनुसन्धान गतिविधि र समग्र संस्थागत चुनौतीबारे पनि प्रस्तुति गरिएको थियो ।

छलफलका क्रममा मन्त्री पोखरेलले उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्नु भएको थियो र आफूले राखेका जिज्ञासाहरूमा पदाधिकारीहरूले स्पष्ट जवाफ दिनु भएको थियो । मन्त्री पोखरेलले प्रतिष्ठानका समस्या सरकारको जानकारीमा रहेको उल्लेख गर्दै समाधानका लागि सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नीतिगत जटिलता हटाउने र आर्थिक संकट न्यूनीकरण गर्न विशेष पहल गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा उपकुलपति श्रेष्ठले मन्त्री पोखरेललाई आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । उक्त छलफल कार्यक्रममा शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, सहायक परीक्षा डीन डा. धनकेशर खड्का, मेट्रोन कला थापा तथा डेपुटी मेट्रोन विष्णुमाया तामाङ लगायतको उपस्थिति रहेको थियो । प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ द्वारा जारी विज्ञप्तिअनुसार भ्रमणले प्रतिष्ठानका समस्या समाधानतर्फ सकारात्मक संकेत दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया