घण्टाघरबाट हेर्दा

फेरि ६५ को झैँ वहुमत ल्याउछौं
हिजोआज प्रचण्डले ४० को दशकमा बनेका मुंगेरिलालको हँसिन सपना झैँ सपनाझैँ सपना देख्न थालेका छन् । मुंगेरिलाल दिउँसै सपना देख्थे । टक–टाँक तन्नम मुंगेरिलाल अलिसान महलको मालिक भएका, अगाडि पछाडि नोकरचाकरहरू दौडिएको, गाडी घोडाको लस्कर लागेको, सबैले सम्मान गरेको सपना देख्दा देख्दै श्रीमतीको झापु खाएपछि झसङ्ग भएर ब्युँझँदा आफूलाई झोपडी र फाटेको लुगामा पाउँथे । प्रचण्ड र मुंगेरिलालको सपना समान छन् । ६५ सालमा जनताले बहुमत दिएका थिए, अहिले सडकमा पछारिदिएका छन् । पटक पटक लाउरेस् र झालेमालेलाई छिर्किनी लगाएर सत्ताको रसवादन गरेका उनलाई पुरानो याद झल्भल्ती आउँदा होला । कहिले फेरि हामी जंगल पस्छौँ भन्छन्, कहिले हामीलाई कमजोर नठानियोस् भन्छन्, कहिले अझै पनि ६५ सालको जस्तो बहुमत ल्याउन सक्छौँ भन्छन् । अब ती जंगल पस्न सक्छन्, न ती बलिया छन्, न ६५ को जस्तो बहुमत ल्याउन सक्छन् । अब तिनले सक्ने भनेको थुतुनो बजाउने मात्र हो । अर्को चुनाव सम्भवतः हाडखोर पनि नपाइएला जस्तो पो छ ।
लाउरेसले सरकारलाई सुझाउ देछ
सुहाएन । पटक्कै सुहाएन । लाउरेसका वर्तमान छिचिमिरा पदाधिकारीहरूले दुई तिहाइको बालेन्द्र सरकारलाई अस्तिका दिन सुकुम्बासी समस्या यसो गरे सुल्झाउन सकिन्छ भनेर सुझाउ दिएछन् । अनाडी छिचिमिराहरूलाई कस्तो अलिकति कुटी कुटी पनि नलागेको होला ? ०४६ सालपछि कुनै न कुनै रूपमा यिनै अनाडी छिचिमिराहरू सत्ताको वरिपरि थिए । सांसद भए, मन्त्री भए, महामन्त्री भए । यत्तिका दिनसम्म यिनहरूले सुकुम्बासी समस्या समाधानमा के लछारपाटो लगाए ? सुकुम्बासी आयोगको नाममा आफ्ना मान्छे भर्ना गर्ने, नजराना लुट्याउने बाहेक अर्थोक लछारपाटो लगाएको कसैलाई थाहा छैन । अहिले बडो विज्ञ जस्तो भएर उसलाई अर्ति र सुझाउ दिँदै हिँड्छन् । हैन हौ, अलिकति कुरी कुरी लाग्नु पर्ने हो । त्यसैले यसपटक जनताले निर्वाचनमा धोबीले लुगा पछारेझैँ सडकमा पछारिदिए । बडो आए सल्लाह दिने वाला ।
घण्टेहरुको सुशासन मान्नैपर्छ

बोल्नेभन्दा नि घण्टी हल्लाएरै ३५ वर्षदेखि रजगज गरेका तीसमारखाँहरूलाई सडकमा पाहा पछारेझैँ पछारेका घण्टेहरूले आफ्नो प्रतिबद्धता पूरा गरेरै छाडेका छन् । हामीले सरकार बनायौँ भने सुशासन कायम गरेरै छाड्छौँ भन्थे । अबचाहिँ पत्याइयो । जेहोस्, घण्टेहरूको सुशासन तारिफ योग्य छ । सरकार गठन गरेको २६ दिनमै आफ्ना दुई जना मन्त्रीलाई घोक्रेठ्याक लगाएपछि घण्टेहरूको सुशासनलाईचाहिँ मान्नै पर्छ । पहिला त सुन ओसार्ने सुनबुढा, मानव तस्कर गर्ने मइसाहेब, भिजिट भिसाका ठेकेदार, एनसेलबाट माल चप्काउने, वाइडबडी र जेटएयर असुली गर्ने, ललिता निवास प्लटिङ गर्ने, सर्प पाल्ने नाममा करोडौँ डार्ने, सार्वजनिक सम्पत्ति कब्जा गर्ने लगायतबाट सबै पाँचखत माफ पाएझैँ छुट पाएका थिए । अहिले त आरोप लाग्यो कि सिंहदरबारबाट रवाना हुनुपर्छ । अनि छैन सुशासनयोग्य तारिफ ?
कान्छारामलाई स्पस्टीकरण
पार्टी कब्जा गर्न सफल भए पनि सिंहदरबार छिर्न नपाएको बाख्रे साहेबले अस्तिका दिन लाउरेसका नेता कान्छाराम तामाङलाई स्पष्टीकरण सोधेछन् । बाख्रे साहेबका बारेमा यति बेला पार्टीका कसैले नराम्रो बोल्नै हुँदैन । कि स्पष्टीकरण, कि निष्कासनको कुरा आइहाल्छ । यतिबेला बाख्रे साहेबका विरुद्धमा कसैले बोल्नै हुँदैन । कान्छाराम तामाङले बाख्रे साहेबसँग तीन अर्ब रुपैयाँ छ भनेर बोलेका थिए । बस त्यत्तिकैमा स्पष्टीकरण सोधियो । हैन हौ, कान्छारामले केही सुइँको नपाईकन त त्यसै बोल्ने होला, यसमा बाख्रे साहेबसँग तीन अर्ब छ कि छैन भनेर छानबिन हुनुपर्दैन ? सुइँको नपाईकन कसैले कसैमाथि आरोप लगाउने कुरा पनि हुँदैन । छानबिन नै नभईकन स्पष्टीकरण किन सोधियो ? चोरको खुट्टा काट भन्दा सक्कली चोरले खुट्टो उचाल्या थियो रे । कान्छारामले बोलेको कुराले बाख्रे साहेबको धाक खस्ने त्रासले स्पष्टीकरण सोधिएको त होइन ? यस्तै पारा हो भने आउने चुनावसम्ममा हजारौँ कान्छारामहरूले लाउरेस परित्याग गर्लान जस्तो पो छ । हुन त सुधारिएको लाउरेस यस्तै हो । बिग्रेको भए पो आरोप लागेपछि दूधको दूध पानीको पानी छुट्याउने काम हुन्थ्यो, कि कसो हौ ?
नख्खु फर्कने फैसला नलेखियोस्
घरेलु मन्त्री सुदान गुरुङ साह्रै अभागी रै’छन् । घरेलु मन्त्री भएको २६ दिनमै विचरा फेरि सडकमा फिर्ता भएका छन् । हुन त घरेलु मन्त्री हुनासाथ अलि ज्यादै नखराचाहिँ गरेका थिए । हिजो जेनजी आन्दोलनका बेला आन्दोलनकारी हरूलाई ठाउँठाउँमा गएर पानी बाँडेका थिए । अब फेरि त्यही पानी बाँड्ने ठाउँमा पुगेछन् । घुमिफिरी रुम्जाटार भनेझैँ । उता सुल्फा तान्नेहरू मेचीदेखि महाकाली ढाक्ने भए । सहकारी हान्नेहरूको बाहिर रुन्चे हाँसो देखिन्छ । कुन दिन फेरि अदालतबाट नख्खु फर्कने फैसला लेखिन्छ । माने सुल्फा तान्नेहरू मौलाएको देखिन्छ । हुन त सहकारी हान्नेको पीडा कसले बुझ्ने ? बडो दुःख गरेर घण्टी पार्टी जन्मायो, पार्टीको सभापति पनि आफैँ, आफ्नै पार्टीले बहुमत ल्याएको छ तर सत्तामा चाहिँ सुल्फा तान्ने मुखियाको रजगज । यो सबै देख्दा मुटु भक्कानिएर आउँछ होला । फेरि यस्तो गोल्डेन चान्स आउला कि नआउला । उपरवाला जाने ।
टुप्पा र पातको फुइँ
लाउरेसका सभापति बाख्रेकाजीले यतिबेला जरा अभियान सञ्चालन गरेका छन् । के हो जरा अभियान ? ठाउँठाउँमा गएर आफ्ना नजिकका नन्दीभृंगीहरू बटुल्ने, लम्बेतानको ताइतुइको भाषण ठोक्नु नै जरा अभियान हो । विशेष महाधिवेशनबाट जरा जति सबै उखेलिएको छ, सुकेको छ । जरा माने लाउरेसमा त्याग गरेका, पुराना विचार बोकेका, आदर्शका पछि दौडिएकाहरूको वास्ता छैन । वडा सदस्य जित्ने हैसियत नभएका, जागिर खाएर पुग्दो कमाएर टाइमपासका लागि लाउरेस भएका, कसैले नपत्याएका, लाउरेसको छत्रछायाँमा सुरक्षित हुन आएकाहरूको झुण्ड बटुलेर फलाक्दैमा जरा अभियान हुन रे । काम पाइनस् बुहारी, पाडाको पिँध कन्या भनेजस्तै नै हो । अब हुनेवाला केही छैन । जरा अभियान चलाउ कि, फेद अभियान चलाउ कि, हाँगा अभियान चलाउ कि, टुप्पा अभियान चलाउ कि, पात अभियान चलाउ ? केही लछारपाटो लाग्ला जस्तो छैन ।
अब चार पाँच जना पनि नहुने भए
प्रधानमन्त्री बालेन शाहले थापाथलीको सुकुम्बासी बस्ती हटाएर बडो नाकाम गरे । वर्षौंदेखि बस्दै आएका त्यस्ता इज्जतदार, सम्पन्न सुकुम्बासीलाई हटाउनु हुँदैन थियो । थापाथलीका सुकुम्बासीहरूले नेपालका राजनीतिक दलहरूलाई कम्ता ठूलो भरथेग गरेका थिएनन् । सुकुम्बासी नाइकेलाई माल दिएसी हुरुरु हुरुरु हजारौँ मानिसलाई जुलुस आमसभामा भेला गराइहाल्थे । काठमाडौँमा जुलुस गर्ने, नारा लगाइदिने, झण्डामा डण्डा हालेर बोकिदिने, उनीहरू नै थिए । पछिल्ला दिनमा राजनीतिक दलका कार्यक्रमहरूमा मान्छे आउन छाडेका थिए । अब सुकुम्बासी बस्ती हटाइदिएपछि चार पाँच जना पनि नहुने भए । भैपरी आउन जुलुस, नारा, आमसभा का लागि राजनीतिक दलहरूले बागमती, मनोहरा लगायतका स्थानमा सुकुम्बासी बस्ती बसाएका थिए । प्रधानमन्त्री बालेन शाहले चौपट्ट गरिदिए । सुकुम्बासी बस्ती हटाएपछि लाउरेस र झादलेमालेका नेताहरूको तीव्र बर्बराहट शुरु भएको छ ।
अन्तेमा
म माननीय हुँ, म माननीय हुँ, म पूर्व विशिष्ट प्रहरी अधिकारी पनि हुँ । म लत्तरो मान्छे हुँदै होइन । म आउँदा फूल, माला खाँदा लगाएर स्वागत गर्नुपर्छ । हैट, ओखलढुङ्गाबाट घण्टी बजाएर चुनाव जितेका घण्टे पार्टीका सांसद विश्वराज पोखरेलले जगतै हँसाए । अस्तिका दिन ओखलढुङ्गाको एउटा विद्यालय निरीक्षण गर्न जाँदा उनले आफ्नो स्वागतमा नआएको भन्दै विद्यालयका प्रअको हुर्मतै लिएछन् । हुन त पूर्व प्रहरी हुन् । सलाम खाने बानी परेको मान्छे । माननीय हुँदा जनताले पाइलैपिच्छे सलाम गर्ला, नमस्ते गर्लान्, माला भिराइदेलान् भन्ने लागेको थियो । जनताले नै भोट दिएर जिताएकालाई जनताले किन सम्मान गर्थे ? फेरि जाबो एउटा माननीयले स्कुल निरीक्षण गर्न किन मुन्टिनु परेको थियो ? निरीक्षण गरेर तिनले झार्ने पनि केही होइन । फेरि प्रअलाई त्यसरी थर्काउने अधिकार उनलाई कसले दियो ? मालै लगाउन मन थियो भने आफ्ना घण्टे कार्यकर्ताहरूलाई भनेको भए भैहाल्थ्यो । आठ–दश किलोको माला भिराइदिन्थे । बुद्धि बिग्रिएपछि यस्तै हो । अब सुशासनको नारा दिने घण्टेले तिनलाई वापस बोलाउँछन् कि बोलाउँदैनन् ?

तपाईको प्रतिक्रिया