यतिबेला नेपाली काँग्रेसभित्रको विवाद सडकमा छताछुल्ल भएको छ । अनुभव नभएका र अग्रजको अपमान गर्ने संस्कारबाट नेपाली काँग्रेस सशक्त बन्न सक्दैन । बाह्य ग्राउन्ड डिजाइनबाट विशेष महाधिवेशनको नाममा पद हत्याउँदैमा काँग्रेस ट्र्याकमा आउने होइन । वर्तमान सभापतिको नेतृत्व लिने यसभन्दा अगाडि पनि पार्टीको जिम्मेवार ओहोदामा रहेका थिए । त्यसबेला उनले काँग्रेसकै नेतृत्वलाई खुइँल्याउने, चर्को र आडम्बरी वकबास बाहेक रमणीय योग्य के गरेका थिए ? निवर्तमान नेतृत्वले प्रतिनिधिसभाको निर्वाचन पश्चात् अर्थात निर्वाचनको दुई महिनापछि १५ औं नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । विधानतः पुनः नेतृत्वमा नआउने कुरा सार्वजनिक भइसकेको अवस्थामा हतारहतार विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता किन आयो ? आज काँग्रेसको जुन दुर्गति भएको छ यसको प्रमुख जिम्मेवार कथित विशेष महाधिवेशनबाट केवल नेतृत्व हत्याउने नै हुन् । पार्टी कब्जा गर्दैमा बलियो र सशक्त हुने होइन । प्रजातान्त्रिक मर्म अनुसार प्रतिनिधिसभामा संख्याको दृष्टिले सशक्त उपस्थिति हो । विशेष महाधिवेशनबाट आएकाहरूलाई निर्वाचन आयोगले मान्यता दियो, न्यायालयले निर्वाचन आयोगकै निर्णयलाई सही ठह¥यायो । यो हुनु थियो यस्तै भयो । तर यसभित्रको तथा अन्तरनिहित कटु यथार्थ बुझ्ने ल्याकत वर्तमान कथित नेतृत्वमा देखिएन । यसको वास्तविकता काँग्रेसलाई कमजोर बनाएर प्रतिनिधिसभामा सम्भवतः उपस्थिति नै नहोस् या न्यून संख्यामा होस्, जसको उपस्थितिले कुनै प्रभाव पार्न नसकोस् भन्ने नै थियो । नत्र पार्टी सभापति, उपसभापति, महामन्त्री, सचिव लगायतले किन निर्वाचन हारे ? किन निर्वाचनमा महामन्त्री भइसकेका व्यक्ति हालका उपसभापतिले उम्मेदवार बन्ने सम्मको ल्याकत राखेनन् ?
काँग्रेस निर्वाचन आयोग र न्यायालयले साढे सात दशक अगाडि गठन गरिदिएका होइनन् । काँग्रेस बनाउन धेरै अग्रजहरूले आफ्नो रगत पसिना बगाएका छन्, परिवार त्यागेका छन्, प्रवासमै मृत्युवरण गरेका छन् । निवर्तमान नेतृत्वले समेत शारीरिक पीडा, मानसिक पीडा भोगेको हो । अग्रजहरुकै समर्पणका कारण काँग्रेसले जीवन्तता पाएको हो । तर २०४६ सालमा अर्काका घरमा ढुंगा हानेको, बेतुकका भाषण गरेको भरमा जबरजस्ती नेतृत्व हत्याएर काँग्रेस बलियो हुँदैन । म फलानोलाई कारबाही गर्छु, पार्टीबाट निष्कासित गर्छु भन्दै सोही अनुरूप अगाडि बढ्ने हो भने भोलिका दिनमा कोही कार्यकर्ता रहने छैनन् । काँग्रेस भारतीय काँग्रेस वा नेपालका प्रजापरिषद्को अवस्थामा पुग्ने निश्चित छ । अहंकार र घमण्डले जहाँ राज गर्छ, पतनको सुरुवात त्यहीबाट हुन्छ । तर वर्तमान नेतृत्वले यस कुराको हेक्का राख्न सकेको छैन । दुई–चार जना अवसरवादीहरूले ्रघेरेकै भरमा, देवत्वकरण गरेकै भरमा आफू मात्र ठीक छु भन्ने सोचले काँग्रेस सशक्त हुनै सक्दैन । काँग्रेस सशक्त होस् भन्ने वास्तवमै वर्तमान नेतृत्वको चाहना भइदिएको भए निवर्तमान नेतृत्वले आह्वान गरेको नियमित महाधिवेशन पर्खनुपर्ने थियो । जसले गर्दा काँग्रेसमा यो तहको मनमुटाव, विभाजन र पलायनको अवस्था आउने थिएन । आम निर्वाचनमा काँग्रेसले प्राप्त गरेको समानुपातिक मतले के प्रष्ट हुन्छ ? अझै पनि मै ठीक, अरु सबै गलत भन्ने भाष्य स्थापित गर्ने हो भने काँग्रेसको भविष्य नै अन्योलमा देखिन्छ ।
