धरान । धरानमा युवाहरूलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्ने उद्देश्यसहित स्वरोजगारमूलक तालिम कार्यक्रमहरू विस्तार हुँदै गइरहेका छन् ।
यही क्रमलाई थप मजबुत बनाउँदै धरान उपमहानगरपालिकाको समन्वयमा सिटिइभिटीको पाठ्यक्रममा आधारित ३९० घण्टे मोबाइल मर्मत तालिमको उदघाटन भव्य रूपमा सम्पन्न भएको छ । धरानस्थित भान्जा मोबाइल मर्मत केन्द्रमा आयोजित उक्त कार्यक्रम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सञ्चालन भएको हो । उद्घाटन सत्र धरानका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उहाँले युवाहरूलाई रोजगारी खोज्नेभन्दा सिर्जना गर्ने दिशामा अघि बढाउन यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
समय सापेक्ष आधुनिक उपकरण र प्रविधिसहित सञ्चालन हुने यस तालिममा २९ जना युवाहरू सहभागी रहेका थिए ्। प्रशिक्षक आशिष राज यादवका अनुसार दक्ष र अनुभवी प्रशिक्षकमार्फत सहभागीहरूलाई व्यवहारिक तथा प्रयोगात्मक ज्ञान दिइनेछ, जसले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


त्यस्तै, प्रमुख प्रशिक्षक तथा प्रबन्धक सबिन लम्सालले सिटिइभिटीको तह १ अन्तर्गतको पाठ्यक्रम अनुसार दुई ब्याचमा तालिम सञ्चालन गरिएकोे जानकारी दिदै गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनमा कुनै कमी नछोड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामस्वरुप शर्मा, धरान उपमहानगरपालिका वडा नं. ८ का सदस्य रवीन्द्र श्रेष्ठ, सञ्चारकर्मी उपेन्द्र चाम्लिङ, प्रदीप म्याङबोको उपस्थिति रहेको थियो । यो पहलले विशेषगरी बेरोजगार तथा सीपविहीन युवाहरूलाई लक्षित गर्दै उनीहरूलाई प्राविधिक शिक्षा र सीपसँग जोड्ने प्रयास गरेको गरिएको आयाजककको भनाई छ ।
