धरान । भारत सरकारको आर्थिक सहयोगमा बाग्लुङमा अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने भएको छ । गण्डकी प्रदेशको बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ७ भीमगट्ठे स्थित स्वास्थ्य चौकी निर्माणका लागि वैशाख ३ गते नेपालस्थित भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव अजयकुमार सिंह र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले एक विशेष समारोहबीच संयुक्त रूपमा शिलान्यास गर्नुभयो । भारत सरकारको आर्थिक सहयोग नेरु २ करोड ५० लाखमा उक्त स्वास्थ्य चौकी निर्माण हुने भएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुने उक्त परियोजनाको कार्यान्वयन बडिगाड गाउँपालिकामार्फत हुने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


शिलान्यास समारोहमा बोल्दै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले परियोजना सम्पन्न भएपछि स्थानीयसँग नजिकका अन्य गाउँपालिकाका बासिन्दाले भरपर्दो स्वास्थ्य सेवा लिन सक्नेछन् । भारत सरकारद्वारा नेपालका सातै प्रदेशमा प्रदान गरिँदै आएको विकास सहयोगको समेत अध्यक्ष अधिकारीले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो–नयाँ संरचना निर्माणपश्चात स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनु भएका बासिन्दा लाभान्वित हुने पटक–पटक दोहो¥याउनुभयो । नेपाल भारतको सबैभन्दा निकटको छिमेकी राष्ट्र हो । दशकौँदेखि भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । देशका विभिन्न भागमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताले लाभ लिएको र प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधारलाई अगाडि बढाई नेपालीको समृद्धिका लागि भारत सरकार निरन्तर सहयोग गर्न तयार रहेको जारी विज्ञप्तिमा जनाइएको छ ।


