पूर्वका जिल्लामा सवारी दुर्घटनाको श्रृंखलाः दुई जनाको मृत्यु, दर्जनौँ घाइते

धरान । पूर्वी नेपालका विभिन्न जिल्लामा एकै दिन भएका सवारी दुर्घटनाहरूले सडक सुरक्षा चुनौती झन् गम्भीर बन्दै गएको देखाएका छन ्। धनकुटा, मोरङ, सुनसरी, झापा, खोटाङ र पाँचथर जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा २२ वर्षीय विपिन चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा चालक सामान्य घाइते भएका छन् । त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक हवल्दार गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धरान पठाइएको छ ।
मोरङ जिल्लामा मात्रै धेरै दुर्घटना भएका छन् । रतुवामाई, विराटनगर, बुढीगंगा र बेलबारी क्षेत्रमा मोटरसाइकल आपसमा ठोक्किने, स्कुटरलाई ठक्कर दिने तथा आफैँ अनियन्त्रित भई दुर्घटना हुने घटनामा धेरैजसो व्यक्ति सामान्य घाइते भएका छन् ।

सुनसरीमा पनि मोटरसाइकलले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिने तथा सिटी सफारी आपसमा जुध्ने घटनामा धेरै जना घाइते भएका छन् । झापामा मोटरसाइकल, स्कुटर र साना सवारी साधनहरूबीच ठक्कर हुँदा तथा पैदलयात्रीलाई ठक्कर दिँदा वृद्धसहित धेरै व्यक्ति घाइते भएका छन् । केही घटनामा तीव्र गति र सडक पार गर्ने क्रममा असावधानी मुख्य कारण देखिएको छ । धनकुटामा भने यात्रुवाहक हाइस गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा सवारी साधनमा क्षति पुगे पनि मानवीय क्षति भएन । पाँचथरमा मोटरसाइकलले स्कुटरलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा एक जना गम्भीर र एक जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार अधिकांश दुर्घटनामा तीव्र गति, चालकको लापरवाही, लेन उल्लंघन, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुनु तथा सडक पार गर्दा पैदलयात्रीको असावधानी मुख्य कारणका रूपमा देखिएका छन् । केही घटनामा मादक पदार्थ सेवन (मापसे) पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ । यी घटनाले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, चालक सचेतना अभिवृद्धि तथा पैदलयात्रीलाई समेत अनुशासित बनाउने आवश्यकता अझ बढेको संकेत दिएका छन् । प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, मापसे नगरी सवारी चलाउन र अनिवार्य रूपमा लाइसेन्ससहित कागजात बोकेर हिँड्न आग्रह गरेको छ । साथै, पैदलयात्रीलाई सुरक्षित स्थानबाट मात्र सडक पार गर्न अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया