बीपीलाई स्वास्थ्य सम्बन्धी सामाग्री प्रदान

धरान। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई करिब ४८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । काठमाडौंस्थित एक निजी संस्थामार्फत प्राप्त उक्त सहयोग अन्तर्गत विभिन्न मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । शनिबार आयोजित कार्यक्रममा संस्थाका प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले सामग्री प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बु, का.मु. डेपुटी रजिस्ट्रार सागर ताम्राकारलगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका सामग्रीहरू दैनिक उपचार सेवामा प्रयोग हुने महत्वपूर्ण उपकरणहरू रहेको बताइएको छ । पछिल्लो समय बिरामीको चाप बढ्दै जाँदा तथा आर्थिक अभावका कारण देखिएको सामग्री कमीलाई यस सहयोगले केही हदसम्म सम्बोधन गर्ने विश्वास प्रतिष्ठानले लिएको छ । सो अवसरमा दाता दीपक बनेपालीले आफू धरानकै बासिन्दा भएको नाताले प्रतिष्ठानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै अन्य व्यक्ति तथा व्यवसायीलाई पनि सहयोगका लागि आग्रह गर्नुभयो । उपकुलपति श्रेष्ठले निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले उपचार सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उल्लेख गर्दै दाताप्रति आभार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया