दुहवी । भारत सरकारको आर्थिक सहयोगमा कोशी प्रदेशको सुनसरीस्थित दुहवी नगरपालिकामा निर्माण हुन लागेको फोहोरमैला व्यवस्थापन केन्द्रको आइतबार शिलान्यास गरिएको छ । भारत सरकारले नेपालको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल लगायत दर्जनौं पूर्वाधार निर्माणमा अतुलनीय सहयोग उपलब्ध गराउँदै आएको छ । दुहवीमा निर्माण हुन लागेको फोहोरमैला व्यवस्थापन केन्द्र समेत यसैको निरन्तरता भएको नेपालस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा जनाएको छ । दुहवी नगरपालिका वडा नं. ४ स्थित निर्माण हुने अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्रको एक विशेष समारोहबीच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण हुन केन्द्रका लागि भारत सरकारको आर्थिक सहयोग करिब नेरु १६.४ करोड रहेको छ । उक्त केन्द्रको निर्माण दुहवी नगरपालिकामार्फत कार्यान्वयन हुने भएको छ ।


केन्द्रको शिलान्यासका अवसरमा दुहवी नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारी, कार्यालयका कर्मचारी, स्थानीय बासिन्दाहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले भन्नुभयो भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोग अत्यन्तै प्रशंसनीय छ । निर्माण हुन लागेको नयाँ संरचनाले अब आगामी दिनमा दुहवी नगरपालिकामा दीगो रुपमा फोहोरमैला व्यवस्थापनमा अत्यन्तै ठूलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रमुख गच्छदारले भन्नुभयो दुहवीमा अरु पनि धेरै संरचनाहरूको निर्माण गर्नुपर्ने टड्कारो आवश्यकता छ । राज्यले उपलब्ध गराएको अनुदान र नगरपालिकाको आफ्नै आन्तरिक स्रोत मात्र जनचाहना बमोजिमका विकासका पूर्वाधार निर्माणमा अपुग रहेको दोहो¥याउँदै आगामी दिनमा पूर्वाधार विकास निर्माणका लागि थप सहयोग उपलब्ध हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो । यसैगरी भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले भारत सरकारले सन् २००३ देखि उच्च प्रभाव सामुदायिक विकास परियोजना मार्फत नेपालका ७७ वटै जिल्लामा गरी ५ सयभन्दा बढी परियोजनाहरू निर्माण सम्पन्न गरिसकेको, दर्जनौं परियोजनाहरू निर्माणाधीन रहेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो नेपालको समृद्धिमा भारत सरकार सदैव सहयोग गर्न तयार रहेको प्रष्ट पार्दै दुहवीमा निर्माण हुन लागेको फोहोरमैला व्यवस्थापन केन्द्र (Waste Management Centre) ले नगरबासीलाई स्वच्छता प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको छु । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ भारत अत्यन्तै घनिष्ट र नजिकको छिमेकीको रूपमा रहेको नेपाल र भारत बीचमा व्यापक बहुक्षेत्रीय सहकार्य रहँदै आएको र निरन्तर रहनेछ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारतको निरन्तर सहयोग रहनेछ ।



