धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तसँग स्वास्थ्यकर्मी र कर्मचारीले गर्ने व्यवहारलाई अझ मर्यादित, संवेदनशील र सेवाग्राहीमैत्री बनाउन विशेष पहल सुरु गरेको छ। यसका लागि प्रतिष्ठानले ‘बिरामीप्रति पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन गरेको छ। प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले मनोचिकित्सा विभागका प्राध्यापक प्रा.डा. बैकुण्ठ राज अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्नुभएको हो। समितिमा स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. विजय खनाल, अर्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर डा. जमल गिरी, मनोचिकित्सा विभागका एसिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बू, बायोकेमिस्ट्री विभागका एसिस्टेन्ट प्रोफेसर डा. बसन्त गेलाल तथा अस्पताल प्रशासनकी डा. स्वेता झा सदस्य रहनुभएको छ । प्रतिष्ठानमा दैनिक रूपमा हजारौँ बिरामी उपचारका लागि आउने भएकाले उनीहरूसँग गरिने संवाद, व्यवहार र अन्तक्र्रियालाई अझ प्रभावकारी र सम्मानजनक बनाउने उद्देश्यले यो समिति गठन गरिएको जनाइएको छ। समितिले प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, पारामेडिक्स तथा प्रशासनिक कर्मचारीलाई लक्षित गर्दै उत्प्रेरणामूलक तालिम कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

चरणबद्ध रूपमा सञ्चालन गरिने उक्त तालिमअन्तर्गत हालसम्म ७८ जना हेल्थ एड तहका कर्मचारीले प्रशिक्षण लिइसकेका छन्। हाल दोस्रो चरणमा हेल्पर तहका कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ। आगामी चरणहरूमा बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने प्रशासनिक कर्मचारी, पारामेडिक्स, प्राविधिक कर्मचारी, नर्सिङ कर्मचारी तथा चिकित्सकहरूलाई पनि तालिम दिइने प्रतिष्ठानले जनाएको छ। तालिममा बिरामीसँग बोल्दा प्रयोग गरिने भाषा र हाउभाउलाई कसरी नरम र व्यावसायिक बनाउने, उपचार प्रक्रिया र परामर्शलाई बिरामीले सजिलै बुझ्ने गरी कसरी प्रस्तुत गर्ने तथा बिरामीको पीडा बुझेर उनीहरूलाई मानसिक रूपमा सकारात्मक ऊर्जा प्रदान गर्ने विषयमा अभ्यास र प्रस्तुतीकरण मार्फत प्रशिक्षण दिइँदै आएको छ । प्रतिष्ठानका अनुसार बिरामीको उपचारमा स्वास्थ्यकर्मीको मर्यादित व्यवहार र मधुर बोलीले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ यस्तो कार्यक्रम सुरु गरिएको हो । पछिल्लो समय स्वास्थ्य संस्थामा बिरामी र स्वास्थ्यकर्मीबीच देखिन सक्ने असमझदारी घटाउन र अस्पतालको सेवा गुणस्तर सुधार गर्न समितिले निरन्तर काम गर्ने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन यस पहलले सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।
