इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ आइतबारे टोलबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति करिब ९ः४० बजे खानतलासी गर्दा युवकको कोठाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–१० स्थायी घर भई हाल इटहरी–४ मा कोठा भाडामा बस्दै आएका १९ वर्षीय आकाश कार्की रहेका छन्। प्रहरीका अनुसार उनको कोठाबाट करिब ३.५८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको छ। प्रहरीले कार्कीलाई उक्त पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
