श्रमसँस्कृति पार्टीले शानदार जित हासिल गर्दा पुराना दलका उमेद्वारले भने आफ्नै वडाबाट समेत मत तान्न सकेनन्

धरान । सुनसरी निर्वाचन क्षेत्र नं. १ को अन्तिम मत परिणामले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । धरानको सडकबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा सानदार विजय हासिल गर्नुभएको छ । विश्लेषकहरूका अनुसार यो परिणाम केवल एक उम्मेदवारको जित मात्र नभई पुराना राजनीतिक पार्टीहरूको राजनीतिक शैलीप्रति मतदाताको असन्तुष्टि र नयाँ विकल्पप्रतिको भरोसाको संकेतका रूपमा समेत हेरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ । दुवै उम्मेदवारबीच ८ हजार ४९२ मतान्तर रहेको छ । यस निर्वाचनमा पुराना राजनीतिक दलहरू भने कमजोर देखिएका छन् । नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गर्नुभयो भने दुई–दुई पटक धरान उपमहानगरपालिका वडा नं. १७ को वडाध्यक्ष जितेर कार्यपालिका बैठकमा निवर्तमान मेयर हर्कराज राईसँग टक्कर गर्दै आउनुभएका सूर्यबहादुर भट्टराईले आफ्नै वडामा समेत उल्लेख्य मत ल्याउन सक्नु भएन । श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान राजनीतिक वृत्तमा गरिए पनि त्यसो नभई मत परिणामले भट्टराईलाई चौथो स्थानमा पु¥याइदियो ।


उहाँले आफ्नै वडामा पनि राईले ल्याएको मतभन्दा कम मत प्राप्त गर्नुभएको छ । राईले वडा नं. १७ बाट ३ हजार ४०५ मत ल्याउँदा दुई–दुई पटक वडाध्यक्ष भएको आफ्नै वडाबाट भट्टराईले १ हजार २४८ मत मात्र प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले समेत आफ्नै वडा धरान–१५ बाट उल्लेख्य मत ल्याउन सक्नु भएन । उक्त वडामा श्रम संस्कृति पार्टीका उम्मेदवार राईले ४ हजार ५७५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ५८ मत, नेकपा एमालेले ५०७ मत र नेपाली कम्युनिष्ट पार्टीले ६०५ मत प्राप्त गरेका छन् । तर नेपाली कांग्रेसका उम्मेदवार तामाङले आफ्नै वडामा सबैभन्दा कम २३४ मत मात्र प्राप्त गर्नुभएको थियो । तामाङले प्राप्त गरेको कुल मत ६ हजार १८५ रहेको छ । धरान–१५ मा श्रम संस्कृति पार्टीले ल्याएको मतसँग तुलना गर्दा तामाङको कुल मत मात्र १ हजार ६१० ले बढी रहेको देखिन्छ । वडागत मत परिणामलाई विश्लेषण गर्दा धरान उपमहानगरपालिकाका अधिकांश वडामा हर्कराज राईको बलियो वर्चस्व देखिएको छ । विशेषगरी धरान–१५ मा उहाँले ४ हजार ५७५ मत, धरान–११ मा ३ हजार ९३८ मत र धरान–१७ मा ३ हजार ४०५ मत प्राप्त गर्नुभएको छ । यी वडाबाट प्राप्ते मतले उहाँको जितको आधार तयार गरेको देखिन्छ । धरान बाहिरका केही क्षेत्रमा भने रास्वपाकी उम्मेदवार गोमा तामाङले प्रतिस्पर्धात्मक मत प्राप्त गर्नुभएको छ । बराहक्षेत्र–५ मा तामाङले २ हजार २३१ मत प्राप्त गर्दा राईले ५९७ मत मात्र प्राप्त गर्नुभएको थियो । त्यस्तै रामधुनी–६ मा पनि तामाङले १ हजार ८०४ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको थियो । तर धरान क्षेत्रमा प्राप्त व्यापक समर्थनले अन्ततः राईलाई सहज जित दिलाएको हो ।

तपाईको प्रतिक्रिया