धरान । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालविक्रम थापा भारी मतान्तरसहित विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको दशकौँ लामो राजनीतिक पकड तोड्दै उहाँले ऐतिहासिक जित दर्ता गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजीव कोइरालालाई ४१ हजार २७७ मतान्तरले पराजित गर्नुभएको हा े। कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका सुजन लामा ८ हजार ३०३ मतका साथ तेस्रो स्थानमा सीमित हुनुभयो ।

विगतमा एमाले र काँग्रेसको बलियो आधार मानिने सुनसरी–२ मा २०६४ यताका चार निर्वाचनमध्ये एमालेले तीन पटक र काँग्रेसले एक पटक जितेका थिए । तर यसपटक मतदाताले नयाँ विकल्प रोज्दै रास्वपाका थापालाई अत्यधिक मत दिएका छन् । २०७९ को निर्वाचनमा १९ हजार ३९१ मत ल्याउनुभएको थापाले यसपटक ५७ हजार ३४८ मत प्राप्त गर्दै आफ्नो मत आधार उल्लेख्य रूपमा बढाउनुभएको छ । निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा १ लाख ५८ हजार ९१० मतदातामध्ये १ लाख १ हजार ६७० मत खसेको थियो भने ६ हजार २२९ मत बदर भएको छ । पेशाले सिभिल इन्जिनियर रहनुभएका थापा राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्रीसमेत हुनुहुन्छ । सुनसरी–२ को यो नतिजालाई पुराना दलको विरासत तोड्दै नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा हेरिएको छ ।
