काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावास काठमाडौँले ७७ औँ गणतन्त्र दिवस सोमबार दूतावास परिसरमा भव्यताका साथ सम्पन्न गरेको छ । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले झण्डोत्तोलन गरेसँगै राष्ट्रिय गीत बजाइएको थियो । नेपालमा रहनु भएका भारतीय समुदाय र नेपालका भारतीय मित्रहरूको उत्साहजनक सहभागितामा गणतन्त्र दिवस मनाइएको थियो ।

सो अवसरमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको सन्देशको भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतीय सेनामा कर्तव्य पालनाका क्रममा दिवङ्गत हुनु भएका सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्दै ७ करोड २० लाख बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फन्डको चेक हस्तान्तरण गर्नुभएको थियो । चेक हस्तान्तरण तथा सम्मान पश्चात कार्यवाहक राजदूत डा. पाण्डेले नेपालमा बसोबास गरिरहनु भएका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारका कल्याणकारी पहलहरू समेटिएको भूपू २०२६ पत्रिकाको लोकार्पण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएका प्रगतिहरूलाई समेटिएको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो । अन्त्यमा आईसीसीआर नेपालका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत नृत्य र सङ्गीतमार्फत सहभागीहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।
