धरान । सुनसरी जिल्लाबाट यसपटक प्रतिनिधिसभामा चार क्षेत्रबाट ५ लाख ४४ हजार ९ सय ४१ मतदाताले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार क्षेत्र नं. १ मा कुल १ लाख ४१ हजार ८ सय ७८, क्षेत्र नं. २ मा १ लाख ४९ हजार ५ सय ३६ जना, क्षेत्र नं. ३ मा १ लाख २५ हजार ४ सय ३१ र क्षेत्र नं. ४ मा १ लाख २८ हजार ६५ मतदाता रहेका छन् ।

निर्वाचनमा मुलुकको १६५ निर्वाचन क्षेत्रमा कुल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ जना रहेका छन् । जसमध्ये पुरुषको संख्या ९६ लाख ६३ हजार ३५८, महिलाको संख्या ९२ लाख ४० हजार १३१ र अन्यको २ सय रहेको छ । देशभरिमा मतदान स्थल १० हजार ९६७, मतदान केन्द्र २३ हजार १२२ रहेका छन् । १६५ निर्वाचन क्षेत्रमा कुल ३४ हजार ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये राजनीतिक दलबाट २ हजार २ सय ९७, स्वतन्त्रबाट १ हजार १ सय ८७ रहेका छन् । उम्मेदवारी दर्ता गराउने पुरुषतर्फ ३ हजार ८८ र महिलातर्फ ३ सय ९५ जना छन् भने २५ वर्षदेखि ३५ वर्षसम्मका उम्मेदवारमा ५ सय ८३, ३६ वर्षदेखि ५० वर्षसम्मका १ हजार ६ सय १०, ५१ वर्षदेखि ६५ वर्षसम्मका १ हजार ९० र ६५ वर्षभन्दा माथिका २ सय १ जना रहेका छन् ।
