धरान । नेपालको राष्ट्रिय गौरवको आयोजना विराटनगर–किमाथांका अर्थात उत्तर–दक्षिण कोशी सडक आयोजनाको खाँदबारी–किमाथांका १६२ किमी मध्ये हालसम्म किमाथांका च्याम्ताङ्गसम्मको १३४ किमी सडकमा सवारी साधनहरु पुग्न थालेका छन् । सार्वजनिक सवारी साधनहरु बरुण दोभान र चुम्सुरसम्म पुगे पनि अन्य सवारी साधनहरुलाई च्याम्ताङ्गसम्म जान अनुमति दिइएको छैन । खाँदबारीबाट आडि फेकमालुङ्ग माने भन्ज्याङ्ग, पाङमा सेकाहा, ह्याङ खोला, छ्याङकुटी भन्ज्याङ्ग रहेका छन् । छ्याङकुटी भन्ज्याङ्गले खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकालाई छुट्याएको छ । छ्याङकुटीबाट अगाडि बढेपछि चिचिला गाउँपालिकाको सुम्भाभिर, कप्ताने, देउराली हुँदै मकालु गाउँपालिकाको नुम बजार पुगिन्छ । देउरालीमा गुरुङ्ग वस्ती रहेको छ । त्यहाँका बासिन्दाहरु स्पष्ट नेपाली बोल्न जान्दैनन् । आफ्नै गुरुङ्ग मातृ भाषा बोल्छन् । तीतिमात्र नभएर उनीहरु तिब्बती भाषा प्रष्टसँग बोल्ने गर्छन् । यसैगरि मकालु गाउँपालिका र चिचिला गाउँपालिकाले देउराली, मुढे बजार र नुम बजारको सेवा दिएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दा–दोभान, गढी डाँडा, गढी बजार हुँदै गोला बजार, सिरुटार, मिर्गेभीर जसलाई नेताभीर पुगिन्छ जुन भोटखोला गाउँपालिकाको वडा नं. ४ मा पर्दछ । यातायातका सवारी साधनहरु गोला बजारसम्म मात्र पुग्छन् । त्यसपछि घोडा, खच्चड, याकमा स्थानीयहरुले सामान ओसार्न गर्छन् । भोटखोला गाउँपालिकाको केन्द्र हटिया हो । हटियाबाट भोटखोला गाउँपालिकाको केन्द्र पुगिन्छ । त्यसोते, खाँदबारीबाट ८० किमिको यात्रा गरेपछि बरुण–दोभान, सिम्बुङ्ग, लिंघम, हुङ्गगुङ्ग, चेपुवा, र रिदक पुगिन्छ । हुङ्गगुङ्गबाट दुई दिनको पैदल यात्रा गरेपछि किमाथांका पुगिन्छ । हुङ्गगुङ्गबाट अगाडि चेपुवा, याङला (भोटखोला गाउँपालिका, किमाथांका अर्थात नेपाल–चीन सीमावर्ती स्थान) पुगिन्छ । खाँदबारीबाट चुम्सुरसम्म कठिनाईपूर्वक यातायातका सवारी साधन मोटराइकल अर्थात् ट्याक्टरमा पनि त्यसभन्दा अगाडि जान सक्ने अवस्था छैन ।
चिनियाँ नागरिकहरुको बाक्लो चहलपहल


त्रिदेशीय सडक सञ्जालले जोड्न लागेको संखुवासभा जिल्लामा चिनियाँ नागरिकहरुको बाक्लो चहलपहल देखिन्छ । अक्सर संखुवासभामा आउने चिनियाँ नागरिकहरु भिषा अवधि समाप्त भएर पनि फर्कदैनन् । खाँदबारीका स्थानीय देउमान राईले दिएको जानकारी अनुसार, हवाईमार्गबाट अथवा काठमाण्डौबाट आएका चिनियाँहरु खाँदबारी नगरपालिका वडा नं. ९ स्थित बुद्ध होटल एण्ड लजमा बस्ने गर्छन् । उनी भन्छन्, अक्सर बुद्ध होटल एण्ड लजमा चिनियाँ नागरिकहरु भेटिन्छन् । सुविधा सम्पन्न भएकाले पनि चिनियाँहरु महालु गाउँपालिका वडा नं. ३ स्थित गेलु शेर्पा होटल एण्ड लजमा बस्ने गर्छन् । उता किमाथांकाबाट अवधारिक रुपमा प्रवेश गरी बरुण–मकालु राष्ट्रिय निकुञ्जमा चोरी–शिकार मात्र नभएर लागू औषधको समेत कारोबार गर्ने गर्दछन् ।
यहाँ स्मरणीय कुरा के छ भने नेपाल–चीन बीच भएको सीमा व्यवस्थापन प्रणाली सम्बन्धी सम्झौतामा विना कागजात एक अर्काका देश प्रवेश गर्नेहरुलाई
हिरासतमा राखेर सात दिन भित्र हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ । यो सम्झौतामा चिनियाँ राष्ट्रपति सीजिङपिङ सन् २०१९ अक्टोबरमा नेपाल भ्रमणमा आउँदा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका थिए ।
ठेक्का लागेको दुई वर्षमा पनि कालोपत्रे भएन
खाँदबारीदेखि ३९ किमि अगाडिको नुम बजार हुँदै फ्याक्सिन्दासम्मको ६५ किमि सडक कालोपत्रे गर्न दुई वर्ष अगाडि ठेक्का लागे तापनि हालसम्म कालोपत्रेको कामले गति लिन सकेको छैन । ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशत मात्र काम भएको उत्तर–दक्षिण सडक आयोजनाका सूचना अधिकृत इन्जिनियर नरेश जिरेलले जानकारी दिनुभयो । १ अर्ब २८ करोडमा दुई लेनको सडकमा कालोपत्रे गर्ने ठेक्का शर्मा–शिव शक्ति जेभीले लिएको हो । हालसम्म संखुवासभा भन्दा अगाडि ६ किमि सडकमात्र कालोपत्रे भएको छ । यो सडक खण्डमा बाटोको स्ट्रक्चरल, ड्रेन लगायतका सबै काम सिद्ध
गरिएको भए पनि रोड सर्फेसको काम अप्ठेरो भएको हो । यद्यपि हालसम्म भौतिक प्रगति २८ प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत भएको छ । ठेक्का सम्झौता गर्दा माइलस्टोन सम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्था अनुसार १२ महिनाभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकम बराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने हुन्छ । आयोजनाले सम्झौता अनुसारको वित्तीय गति नगर्ने ठेकेदारसँग ७० लाख जरिवाना
तिराएको छ ।
चैत्रमा किमाथांका महोत्सव हुँदै
किमाथांकामा आउने चैत्र महिनामा किमाथांका महोत्सव हुने भएको छ । जिल्लाका स्थानीय उत्पादन प्रवद्र्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको भोटखोला गाउँपालिकाले जनाएको छ । महोत्सवका लागि आवश्यक तयारी शुरु भइसकेको छ । संखुवासभाको भोटखोला गाउँपालिका अलैंची उत्पादनका लागि प्रख्यात मानिन्छ । यसका अलावा घ्यु, छुर्पी, भेडाको ऊन, हातले बुनेका गलैचा, बाँसका सामग्री, राडी, पाखी, बहुमूल्य जडीबुटी यर्सागुम्बा लगायत अन्य जडीबुटीहरुका लागि प्रख्यात रहेको छ । महोत्सवमा चिनियाँ पर्यटकहरु भिœयाउन छिमेकी चिनियाँ सहर चांगा, देन्दाङ्गसँगै सिचुआन प्रान्तका प्रमुखहरुलाई पत्राचार गरिने गाउँपालिकाले जनाएको छ । महोत्सवमा अत्यधिक मानिसको सहभागिताका लागि च्याम्ताङ्गदेखि अगाडिको सडक (जुन अझ खराब छ) मर्मत गर्ने कार्य शुरु भएको छ । यो सडक बाढी–पहिरोले नराम्रोसँग क्षतविक्षत भएको छ । कतिपय स्थानमा मानिस समेत हिँड्न नसक्ने अवस्थाको रहेको छ । महोत्सवमा सवारी साधन पु¥याउनका लागि अधिकांश स्थानमा ढुंगाको सोलिङ्ग गर्न काम भएको छ ।
२४ वटा पुलमध्ये १० वटा निर्माण सम्पन्न भएका छन्
उत्तर–दक्षिण सडक आयोजना खाँदबारीका सूचना अधिकृत तथा इन्जिनियर नरेश जिरेलले दिनुभएको जानकारी अनुसार उक्त आयोजनामा कुल २४ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १० वटा पुलहरु निर्माण भइसकेका छन् ।निर्माण सम्पन्न भएका पुलहरुमा फाक्रे खोला पुल, अरुण खोला पुल, नाङ खोला पुल, चाङ खोला पुल, झोर खोला पुल, उवा खोला पुल, उहाङ खोला पुल, ठाडो खोला पुल, वाङ खोला पुल र इकुवा खोला पुल छन् । तर गएको वर्ष इकुवा खोलाको पुल बाढीले बगाएकोले पुनः निर्माण गर्नुपर्ने भएको छ । निर्माण गर्नुपर्ने बाँकी १४ वटा पुलहरुको स्रोत सहमतिका लागि फाइल पेश गरिएको उहाँले जानकारी दिनुभयो । सूचना अधिकृत जिरेलका अनुसार बरुण–खोला पुल निर्माणाधीन भएपनि सञ्चालनमा आइसकेको छ । हाल आयोजनाले सडक स्तरोन्नतिको सबै कार्य डबल लेनमा गरिरहेको छ र आर्थिक वर्ष २०८२–८३ मा पूँजीगत बजेट कुल ६१ करोड ५ लाख ९० हजार विनियोजन गरिएको छ ।
