धरान । धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ शनिबार विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ । नृत्य तथा गायन विधामा आयोजना गरिएको फाइनल प्रतियोगितामा सिनियर र जुनियर समूहका विद्यार्थीहरूले आ–आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए । मेलोडी सिनियरतर्फ कक्षा ६ की नुमा लिम्बु प्रथम, कक्षा ८ का याङछाहाङ राई द्वितीय तथा कक्षा ९ का सन्जोग लिम्बुखिम तृतीय भएका छन् ।
त्यसैगरी मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम, कक्षा ४ की साइवोङ लिम्बू द्वितीय र कक्षा २ का सेजल राई तृतीय भए ।


मोसन (नृत्य) सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम, कक्षा ७ की अदिति प्रधान द्वितीय र कक्षा ७ की सिसिलुङ्मा लिम्बू तृतीय बने । यस्तै मोसन जुनियरतर्फ कक्षा २ की लिलिमहाङमा सुव्वा प्रथम, कक्षा ४ की शुभश्री निरौला द्वितीय र कक्षा ३ की जयरा पोर्तेल तृतीय भएकी छन् । प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन विद्यालयबाहिरका निर्णायकहरू समावेश गरिएको विद्यालयका प्रधानाध्यापक तेजमान लिम्बूले जानकारी दिनुभयो । सिनियर समूहमा कक्षा ६ देखि १० सम्म र जुनियर समूहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी थिए । पुरस्कारस्वरूप दुवै समूहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिभाहरूलाई क्रमशः नगद २ हजार ५सय, १ हजार ५ सय र . १ हजार साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयका निर्देशक दुर्गा सुवेदीले यस्ता कार्यक्रमले कला–संस्कृतिको संरक्षण, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि र लुकेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि धरान १६ का वडाधयक्ष मुरारी भट्टराईले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै उनीहरूको प्रतिभाको प्रशंसा गर्नुभयो ।

