धरान । आर्थिक मन्दीकै कारण व्यापार, व्यवसाय, उद्योग, धन्दा
नराम्ररी प्रभावित भएको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय धरानका प्रमुख जीव नारायण बन्जाडेको कमाउ धन्दा भने राम्रैसँग फस्टाएको छ ।
औद्योगिक क्षेत्र बालाजुबाट एक वर्ष अगाडि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय धरान आएका कार्यालय प्रमुख बन्जाडे उद्योगीहरूलाई अनेकौँ बहानामा अनाहकमा पत्र काट्ने, सूचना प्रकाशित गर्ने, पानी बत्तीको लाइन काट्ने, तयारी सामान निर्यातमा अवरोध गर्ने, आफैँ औद्योगिक क्षेत्रको गेटमा बसेर चेकजाँच गर्ने जस्ता कार्यबाट औद्योगिक क्षेत्र धरानका उद्योगीहरू हैरान भएका छन् । दुई हप्ता अगाडि अर्थात् मंसिर ११ गते निज बन्जाडेले एक उद्योगबाट उत्पादित सामान निर्यातमा मूल गेटमा बसेर कथित चेकजाँचका नाममा रोक लगाउँदै दुःख दिने सम्मका काम गरेका थिए । मंसिर १२ गते बन्जाडेको उक्त कार्यको विरोध गर्दै सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीले कार्यालयमै पुगेर आपत्ति जनाएपछि उनले अब उप्रान्त त्यसो नगर्ने सहमति जनाएका थिए । औद्योगिक क्षेत्र कार्यालय धरानका एक उद्योगीका अनुसार उद्योगीहरूसँग सीधै रकमको माग नगरे पनि उनका पछिल्ला गतिविधिले त्यही कुराको संकेत गरेको बताए । उनले भने कार्यालय प्रमुखले औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले लिजमा लिएको जग्गा, भवनवापत मासिक वा वार्षिक रूपमा रकम असुल गर्ने, पानी बत्तीको समुचित व्यवस्था गर्ने, सुरक्षाको प्रत्याभूति दिने हो । अनाहकमा विभिन्न बहानामा सूचना प्रकाशित गर्ने, पत्र काट्ने, पानी बत्तीको लाइन काटेर उद्योगीहरूलाई आतंकित बनाउने होइन ।


यसै सम्बन्धमा बुझ्न कार्यालय प्रमुख बन्जाडेसँग सम्पर्क राख्दा उनले भने फोनमा के गफ गर्नु ? आउनुस् न अफिसमै बसेर कुरा गरौँ । हाल
धरान औद्योगिक क्षेत्रमा ३१ वटा उद्योगहरू सञ्चालनमा रहेका भए पनि १६ वटा अत्यन्तै रुग्ण अवस्थामा छन् । अहिले उद्योगहरूको व्यवस्थापन कसरी गरिरहनुभएको छ भन्ने सवालमा उहाँले भन्नुभयो– पुराना सञ्चालन नगरेको सम्झौता खारेज गरेको छ । चारवटा सम्झौता खारेज गरेकोमा दुई वटाको जिल्ला अदालतमा भर्खरै फैसलासमेत भएको सुनाउनुभयो । एउटै उद्योगका दुईवटा प्लट रहेकोले त्यसो गरिएको बताउन समेत उहाँ पछि पर्नुभएन । एक उद्योगीले कार्यालय प्रमुख बन्जाडेले सञ्चालन भइरहेको व्यवस्थापन कार्यालयलाई नियमित बक्यौता तिरिरहेको अवस्थामा समेत पानी बत्तीको लाइन काटेपछि अदालतबाट स्टे अर्डर ल्याएर जडान गर्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– उद्योग भनेको भवन मात्र होइन, उद्योगलाई कच्चा पदार्थ, सामान स्टोक गर्ने ठाउँ पनि चाहिन्छ । दुई वटा उद्योगलाई जग्गा सम्झौता अनुसार काम नगरेकोले खारेज गरेको छ । ती उद्योगमा शुभम वाटर उद्योग, जानकी प्रोडक्सन हुन् । एक उद्योगको विद्युत् बक्यौता नतिरेको भन्दै ब्राइट फिड इन्डस्ट्रीको लाइन काटिएको छ । धरान औद्योगिक क्षेत्रले विगतमा नियमानुसार औद्योगिक क्षेत्र सञ्चालन नियमावली अनुसार सम्झौता २० वर्षको थियो । २०७१ सालपछि ४० वर्षका लागि लिजमा दिने व्यवस्था छ । तर लिजमा लिएका उद्योगीहरूलाई बढी जग्गा भोगचलन गरेको भन्दै धम्क्याउने गरेको अर्का व्यवसायीले बताए । प्रति रोपनी प्रति वर्ष उनीहरूसँग जग्गावापत २२ हजार लिँदै आएको छ । सबै लिजमा जग्गा लिनेहरूले सम्पूर्ण मापदण्ड पूरा गरेर लिएका हुन्छन् । तर अनेकौँ बखेडा गरेर अतिरिक्त लाभ लिन बन्जाडे तल्लीन रहेको अर्का उद्योगीले बताए । धरान औद्योगिक क्षेत्रको जग्गा १८ रोपनी रहेको छ । त्यस मध्ये लिजमा दिएको छुट्टै हुन्छ भने अफिस, क्वार्टर हाउस, पम्प हाउस, बाटो, ढलले ओगटेको अलग हुन्छ ।
