सुनसरीको चतरामा रहेको बोराबाधमा पर्यटकको घुइँचो

धरान । बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको ‘बोराबाध’ पछिल्लो समय पूर्वाञ्चलको चर्चित नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । केही वर्षअघिसम्म सुनसान रहने यो क्षेत्र आजभोलि सूर्यास्तको मनमोहक झल्को, कोशी नदीको खुला भू–दृश्य, क्याम्प फायर र रिसोर्टको आकर्षणले दैनिक हजारौँ आन्तरिक पर्यटकलाई तान्न थालेको छ । मङ्सिर १ गतेदेखि सुरु गरिएको क्याम्प फायर सेवाले पर्यटन प्रवद्धृनमा थप सहयोग पुगेको स्थानीयहरु बताउँछन् । अहिले सूर्यास्तको दृश्य हेर्न दैनिक सैयौ आन्तरिक तथा वाह्य पर्यटक पुग्न थालेका छन् । कोशी नदीको किनारमा रहेको बोराबाध थोरै समयमा भाइरल भएको भएपनि यसलाई व्यवस्थित र दीर्घकालीन पर्यटन प्रवद्र्धनको सोच बनाउनुपर्ने त्यहा घुम्न गएका धरानका दिपक दर्नाल बताउनुहुन्छ ।

सप्तकोशी नदीको कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइने बाँधका कारण यस स्थानको नाम ‘बोराबाध’ रहेको मानिन्छ । सुरुमा थोरै रुख र एउटा चटपटे पसल मात्र रहेको ठाउँ अहिले रिसोर्ट, कफी सप, खाजा पसल र क्याम्प फायरसहित आधा दर्जनभन्दा बढी व्यवसायले सजिएको छ । स्थानीय पत्रकार भीषण राईका अनुसार विशेषगरी साँझपख यहाँ अत्यधिक भीड लाग्छ । उहाँका अनुसार दैनिक २ हजारदेखि देखि ३ हजार पर्यटक पुग्ने सो क्षेत्रमा शनिबार भने यो संख्या ५ हजार नाघ्ने गरेको छ ।े सूर्योदय हेर्न इलामको श्रीअन्तु जाने चलन छे, अहिले सूर्यास्त कै दृश्य कैद गर्न ‘बोराबाध’ धाउने क्रम तीव्र रुपमा बढ्दै गएको छ । कोशी नदीको पानीमाथि सूर्य अस्ताउँदा पर्ने सुनौलो झल्को फोटो र भिडियो खिच्नकै लागि धेरै युवायुवती यहाँ आकर्षित हुने गरेको स्थानीयहरु बताउँछन् । प्रचारप्रसारसँगै स्थानीय सरकारले दीर्घकालीन पर्यटन प्रवद्र्धनमा गम्भीर भएर लाग्नुपर्ने स्थानीय बराहक्षेत्र ८ का रमेशजंग निरौला बताउनुहुन्छ । अहिले यो स्थानमा इटहरी, धरान, इनरुवा, विराटनगरदेखि मोरङ,झापा क्षेत्र सम्मका ठाउँबाट दैनिक रूपमा ठूलो संख्यामा पर्यटक ‘बोराबाध’ आइपुग्ने गरेका छन् । छोटो समयमा लोकप्रिय गन्तव्य बनेपछि ‘बोराबाध’ले स्थानीय रोजगार, आय वृद्धि र व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पु¥याएको छ । पर्यटकको बढ्दो चापसँगै थप पूर्वाधार निर्माण, पार्किङ सुविधा तथा आकर्षक संरचना विकासका लागि माग बढ्न थालेको छन ।

तपाईको प्रतिक्रिया