वडा स्तरीय महिला फुटबल शुरु : महिला खेलकुदको् विकासमा जोड

धरान । धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता विहीबारदेखि धरान–१६ स्थित रंगशालामा सुरु भएको छ । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेपछि जनपथ जागरण समाजले यस वर्षको प्रतियोगिता अझै भव्य र प्रभावकारी बनाउने लक्ष्यसहित सुरुआत गरेको हो ।
जनपथ जागरण समाजको आयोजनामा र वडा नं. १६ कार्यालयको संयोजनमा आयोजित प्रतियोगिताको उदघाटन सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गर्नुभएको थियो । समाजलाई वडा कार्यालय १६ ले निरन्तर साथ र सहयोग प्रदान गर्दै आएको छ । वडा स्तरमा महिला फुटबलको विकासमा वडा १६ ले गरेको योगदानको कदर गर्दै अन्य वडाहरुले पनि सहयोगका हात बढाएका छन् ।वडा अध्यक्ष मुरारीप्रसाद भट्टराइले वडास्तरीय महिला नकआउट फुटबल प्रतियोगिता सुरु गर्ने मुख्य उद्देश्य राष्टिूय तथा अन्तर्राष्टिूय स्तरका महिला खेलाडी उत्पादन गर्नु रहेको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष तथा प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले महिला फुटबलको व्यावसायिक विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले पनि खेलाडीको दीर्घकालीन वृत्ति विकासमा गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले यस्ता प्रतियोगिताले खेलाडी पहिचान, उत्पादन र उनीहरूका क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भविष्यमा यिनै खेलाडीले राष्ट्रिय टिमसम्म पुग्ने सम्भावना भएकाले प्रतियोगितालाई अवसरको रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतियोगितामा विजेता टिमले ९० हजार रुपैयाँसहित टूफी र प्रमाणपत्र पाउनेछ । उपविजेताले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, ‘प्लेयर अफ द म्याच’लाई २ हजार, बेस्ट मिडफिल्डर र बेस्ट किपरलाई ३ हजार ५ सय, र उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) लाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया