लुम्बिनीमा भारत–नेपाल साँस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासले सोमबार लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल साँस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न गरेको छ । महोत्सवमा बौद्ध धर्ममा केन्द्रित हुँदै भारत र नेपाल दुवैको समृद्ध साँस्कृतिक सम्पदा र परम्परा झल्काइएको थियो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रुपमा गर्नुभएको थियो । सो अवसरमा शिक्षाविद्हरु, वरिष्ठ बौद्ध भिक्षुकहरु, लुम्बिनी विकास कोषका सदस्य एवम् पदाधिकारीहरु, नागरिक समाजका सदस्यहरु, स्थानीय बासिन्दाहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।


महोत्सवमा भारत र नेपालका दुवै देशका चर्चित कलाकारहरुको प्रस्तुति सहितका साँस्कृतिक कार्यक्रम गरिएको थियो । श्री सन्ध्या कुञ्जन मेनन दाशको नेतृत्वमा आएको ६ सदस्यीय आइसीसीआर समूहले बौद्ध विषयमा केन्द्रित ओडिसी नृत्य प्रस्तुत गरेका थिए । सोही दिन साँझमा नेपाली ब्यान्ड–‘धुगुमुगु’ द्वारा परम्परागत संगीत प्रस्तुत गरिएको थियो । महोत्सवमा पहिलो भागको रुपमा विहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा इण्डिया–नेपाल बुदिष्ट हेरिटेज ः ए कमन लिगेसी शीर्षकको शैक्षिक गोष्ठी आयोजना गरिएको थियो । उक्त गोष्ठीले भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरुलाई एकै स्थानमा उभ्याएको थियो । जसले दुई देशबीच साँस्कृतिक सम्बन्धलाई प्रवद्र्धन गर्न र जनता–जनताबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न बौद्ध सम्पदाको महत्वबारे दृष्टिकोण एक अर्कामा आदान प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया