धरान । नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको नन–प्र्याक्टिसिङ मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको फार्मेसी एक हप्तापछि खुल्ने भएको छ । विगत चार महिना अगाडि करोडौं रुपैयाँ घोटालाको आशंकामा शिल गरिएको फार्मेसीमा सामान भेरिफिकेशनको काम प्रतिष्ठानका हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पाख्रेलको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गरिरहेको छ ।
प्रतिष्ठानको फार्मेसीबाट ठूलो परिमाणमा औषधि हराउने, खरिद गरिएका भनिएका औषधि स्टकमा मौजुद नहुने, औषधि बिक्रीको रकम हिनामिना हुने, म्याद गुज्रिएका औषधि स्टोरमा राखिएको भेटिएपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठको निर्देशनमा पाख्रेलको संयोजकत्वमा छानबिन समिति गठन रिएको होे । स्रोतले दिएको जानकारी अनुसार औषधि खरिद सम्बन्धी सम्पूर्ण कार्य अस्पताल निर्देशक डा. जगत नारायणले गर्दै आएका थिए । हाल उनलाई उक्त अधिकारबाट वञ्चित गरिएको छ । स्रोतका अनुसार औषधि घोटाला प्रकरणमा अस्पताल निर्देशक डा.जगत नारायण, फार्मेसी प्रमुख लक्ष्मण महर्जन, डेपुटी डाइरेक्टर लोकेश जैसवाल र फार्मेसी सहायक कर्मचारी विवेक दाहाल संलग्न रहेको आशंका गरिएको छ । स्रोतका अनुसार छानबिन समितिले दुई हप्ताभित्र आफ्नो प्रतिवेदन बुझाउने र एक हप्ताभित्र भेरिफिकेशनको काम सम्पन्न गरी फार्मेसी सञ्चालनमा ल्याउने उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले जानकारी दिनुभयो । उपकुलपति श्रेष्ठका अनुसार समितिले छानबिनसँगै भेरिफिकेशनको कामलाई समेत एकसाथ अगाडि बढाएको छ । फार्मेसीका औषधिहरू भेरिफिकेशन नगरी सञ्चालन गर्न नमिल्ने भयो । ‘सबैभन्दा पहिले त स्टक काउन्टिङ हुनुप¥यो,’ उहाँले भन्नुभयो, ‘फार्मेसीमा सबै कुरा गज्याङगुजुङ रहेछ । आशंका गरिएकै बेला फार्मेसी शिल गर्नुपर्ने थियो । त्यो नगर्दा गल्ती भयो ।’


छानबिन समितिको रिपोर्ट आएपछि अनियमिततामा संलग्न को–को हुन् भन्ने कुरा बाहिर आउने र आफूहरू समितिकै रिपोर्ट पर्खेर बसेको उहाँले बताउनुभयो । अस्पताल निर्देशक डा. जगत नारायणले अहिले पनि फार्मेसी हेर्दैछन् त भन्ने जिज्ञासामा उपकुलपति श्रेष्ठले भन्नुभयो ‘अहिले उनले हेर्न पाउँदैनन् । हाल फार्मेसी हेर्ने जिम्मा डा. इन्द्र लिम्बुलाई दिइएको छ ।’ उहाँले भन्नुभयो– ‘हामी फार्मेसी चाँडै सञ्चालन गर्ने प्रयास गरिरहेका छौं । झण्डै एक हप्ता लाग्ने हाम्रो अनुमान छ । सामान गन्ने र छानबिनको काम एकैसाथ भइरहेको छ । गन्ने काम मात्र सिद्धिएपछि दबाइ बेच्ने काम सुरु हुन्छ । यसका लागि पहिले गनेको कुराको रेकर्ड ठीक हुनुप¥यो । यसका लागि हामीले हाल ७ जना कर्मचारी समेत नियुक्त गरेका छौं,’ उपकुलपति श्रेष्ठले जानकारी दिनुभयो । ‘दश जना कर्मचारी राख्ने भनिएकोमा तीन जना अझ अपुग भएका छन् । दश जना भएर काम गर्दा अझ चाँडो हुने थियो,’ उहाँले थप्नुभयो । यसअघि फार्मेसी चलाउने जिम्मा प्रतिष्ठानले आफ्नै कर्मचारी राख्नुपर्ने थियो तर फार्मेसी सञ्चालन गर्न केटिएम नामको सेक्युरिटी सर्भिसेज प्रा.लिलाई ठेक्कामा दिएको थियो । त्यो गर्ने हुँदैनथ्यो, उहाँले भन्नुभयो, ‘अनियमितताको कुरा बाहिर आएपछि भौतिक परीक्षणका लागि केटिएम सेक्युरिटी सर्भिसेज प्रा.लिलाई बारम्बार पत्राचार गर्दा पनि उनले आफ्ना प्रतिनिधि पठाएन ।’ उहाँले भन्नुभयो ‘फार्मेसीमा अहिले जुन अनियमितता र बबाल भएको छ, त्यो प्रतिष्ठानका पदाधिकारी र केटिएम सेक्युरिटीसँगकोे मिलेमतोले भएको हो ।’ अर्कोतर्फ, छानबिन नसकिँदासम्म र उसको आधिकारिक रिपोर्ट बाहिर नआएसम्म हामीले आफ्ना कर्मचारीबाट काम गराउन नमिल्ने भएको छ । ‘अहिले फार्मेसीमा रहेका कर्मचारीहरू निर्दोष देखिए भने उनीहरूलाई पनि लिनुपर्ने हुन्छ । त्यसैले अहिले हामीले फार्मेसीका लागि तीन महिनाका लागि मात्र कर्मचारी लिएका छौं,’ उपकुलपति श्रेष्ठले भन्नुभयो । उहाँले थप्नुभयो– केही समयअघि फार्मेसीको फिजिकल भेरिफिकेशन गर्दा धेरै कुरा नमिलेको पाइएको थियो । त्यसैबेला फार्मेसी शिल गर्नुपर्ने थियो । त्यसबेला शिल नगर्दा मान्छेहरू भित्र पस्ने, बाहिर निस्कने गर्दा रहेछन् । त्यसपछि मात्र फार्मेसीमा ठूलो घोटाला रहेछ भन्ने थाहा भयो । शिल गरेपछि छानबिन समितिले आफ्नो काम सुरु गरेको हो । को–को संलग्न छन् भन्ने कुरा छानबिन समितिले दिएको रिपोर्टलाई नै हामी आधार मानेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं, उपकुलपति श्रेष्ठले भन्नुभयो ।
