काठमाण्डौ । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालको शिक्षा, स्वास्थ्य र फोहोर व्यवस्थापन क्षेत्रमा ११ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अगाडि बढाउन काठमाण्डौस्थित भारतीय दूतावास र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका
परियोजना कार्यान्वयन निकायहरूबीच कार्तिक २४ गते सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर भएका परियोजनाहरूको कुल लागत अनुमानित नेरु १.१६ खर्ब रहेको छ । हस्ताक्षरित ११ वटा परियोजनाहरूमा कर्णाली प्रदेशको कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ४ स्थित जनज्योति माध्यमिक विद्यालयको निर्माण, सुदूर प्रदेशको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालय भवनको निर्माण, मधेश प्रदेशको रौतहट जिल्लाको राजदेवी नगरपालिका–४ स्थित प्राथमिक विद्यालयको शैक्षिक भवन निर्माण रहेका छन् ।


यसैगरी, कोशी प्रदेशको झापा जिल्लाको शिवशताक्षी नगरपालिकाको शिवगञ्जमा जनआदर्श माध्यमिक विद्यालय भवनको निर्माण, सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालय भवनको निर्माण, कोशी प्रदेशको झापा जिल्लाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालय भवनको निर्माण, लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–३ स्थित पत्थरदेइया स्वास्थ्य चौकीको निर्माण, कोशी प्रदेशको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित नगर अस्पताल निर्माण, कोशी प्रदेशको सुनसरी जिल्लाको दुहबी नगरपालिका–४ स्थित फोहोर व्यवस्थापन केन्द्रको निर्माण, कोशी प्रदेशको इलाम जिल्लाको इलाम नगरपालिका–७ स्थित इलाम अस्पतालको आपत्कालीन भवन निर्माण र गण्डकी प्रदेशको बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ स्थित भीमगिठे स्वास्थ्य चौकीको निर्माण रहेका छन् । यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यता भारत सरकारले नेपालमा कार्तिक २४ गते समझदारी पत्रमा हस्ताक्षर गरिएका ११ वटा परियोजनासहित ५९० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अगाडि बढाइसकेको छ । यीमध्ये स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक संरचनाहरूको निर्माणका क्षेत्रमा ५०२ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् । यी परियोजनाहरू नेपालका सबै ७ वटा प्रदेशमा रहेका छन् । बाँकी परियोजनाहरू कार्यान्वयनको चरणमा रहेका छन् ।









